गेटाफे ला लिगाको शीर्ष स्थानमा : अपराजित यात्रा कायमै

काठमाडौं, असोज १४
स्पेनिस क्लब गेटाफे ला लिगा फुटबलको शीर्ष स्थानमा चढेको छ । गत राति भएको तेस्रो खेलमा रियल बेटिसलाई ३–० ले हराउँदै उसले अपराजित यात्रा पनि कायमै राखेको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई जिताउन एन्जल रोड्रिग्वेजले २ गोल गरे भने मार्क कुकुरेल्लाले १ गोल गरे ।

पाहुना टोली बेटिस खेलको ८३औं मिनेटमा १० खेलाडीमा झरेको थियो । उसका खेलाडी आइसा मान्डी दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए ।

आफ्नो घरेलु मैदानमा पाहुना टोली बेटिसले खेल पकडमा राखे पनि गोल भने गेटाफेले गर्न सफल भयो । बेटिसले जम्मा ७० प्रतिशत बल आफ्नो पक्षमा राखेर कूल १० सट हान्दा २ सट सही दिशामा हानेको थियो ।

गेटाफेका लागि खेलको १३औं मिनेटमा रोड्रिग्वेजले पहिलो गोल गरेका थिए । त्यसपछि ३९औं मिनेटमा कुकुरेल्लाले गोल गरे भने त्यसको ४ मिनेटमै रोड्रिग्वेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा गेटाफे ३–० ले अघि रह्यो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि गेटाफेले पहिलो हाफकै अग्रता बचाएर खेल जित्यो ।

अब यो जितसँगै गेटाफे लिगमा सुरुका ३ खेल सकिँदा अपराजित छ । उसले २ खेल जितेर १ खेल बराबरी गर्दै ७ अंकसहित शीर्ष स्थानमा छ । पराजित बेटिस २ खेलमा जित र १ हारसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०२:१४
Loading...