रियल मड्रिडलाई ठूलो राहत : हाजार्ड र एसेन्सियो टोलीमा फर्किए

एजेन्सी, असोज १३
स्पेनिस क्लब रियल मड्रिडलाई ठूलो राहत मिलेको छ । उसका २ जना प्रमुख खेलाडी चोटमुक्त हुँदै मैदान फर्किएका छन् । रियलले अर्को दिन ला लिगामा तेस्रो खेल आफ्नो घरमा रियल भाल्लाडोलिडविरुद्ध खेल्दैछ । सो खेलका लागि प्रशिक्षक जिनेदिन जिदानले घोषणा गरेको २३ सदस्यीय टोलीमा यसअघि चोटसँग जुध्दै आएका इडेन हाजार्ड र मार्को एसेन्सियो पनि समेटिएका छन् ।

रियलको मेडिकल टिमले हाजार्ड र एसेन्सियोलाई अफिसियल मेडिकल पास दिइसकेको छैन । तर, भोलि (खेल हुने दिन) सम्ममा उनीहरूले मेडिकल पास पाउनेछन् । लिगको तेस्रो खेलमा घरेलु मैदानबाट दुवै खेलाडीले बेन्चबाट कमब्याक गर्ने सम्भावना छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले हाजार्ड र एसेन्सियो दुवै फिट अवस्थामा रहेको तर भाल्लाडोलिडविरुद्ध कसरी खेल्नेछन् भन्ने विषयमा आफूले अन्तिम निर्णय लिन बाँकी रहेको बताएका छन् ।

रियलले यसअघि सिजनको पहिलो खेल रियल सोसिडाडसँग ०–० को बराबरी खेल्दै नयाँ सिजनको सुरुआत गरेको थियो भने दोस्रो खेलमा रियल बेटिसलाई २–३ ले हराएको थियो । अंक तालिकामा रियल हाल ४ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १५:५०
Loading...