‘रोनाल्डोको उमेरको हिसाब गरेर समय बर्बाद नगर्नुहोस्’

एजेन्सी, असोज १३
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अहिले ३५ र ३६ वर्षको बीचको उमेरमा छन् । उनी २०२१ को फेब्रुअरीमा ३६ वर्ष पुग्नेछन् । तैपनि, रोनाल्डो अझैसम्म विश्व फुटबलको केन्द्रमा उस्तै तामझाम र चमकका साथ खेलिरहेका छन् । फुटबलको गरमागरम केन्द्र युरोपमा उनी निरन्तर आफ्नो जादु चलाइरहेका छन् ।

अहिले मात्रै नभएर विगत २–३ वर्ष अघिबाटै कतिपय मानिस रोनाल्डोले फुटबल करिअर अन्त्य गर्ने समयबारे चर्चा गरिरहेका छन् । उनले कहिले फुटबलबाट सन्यास लिन्छन् भनेर चासो व्यक्त गरिरहेका हुन्छन् । उनका फ्यान र आलोचक दुवै पक्षका मानिस उनको उमेर गन्दै हिसाब गनिरहेका छन् । तर, रोनाल्डोले यति चाँडै सन्यास लिने संकेत देखिँदैन । उनले त पटक–पटक आफू ४१ वर्षको उमेरसम्म ठीकठाक खेल्ने बताउँदै आएका छन् ।

यसैक्रममा, पोर्चुगलको राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोले ४० वर्षसम्म ठीकठाक खेल्ने बताएका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले मानिसहरूलाई रोनाल्डोको उमेरको हिसाब गरेर समय खेर नफाल्न पनि सुझाव दिएका छन् । सान्तोष उनै प्रशिक्षक हुन्, जसले रोनाल्डोकै कप्तानीमा पोर्चुगललाई सन् २०१६ मा युरो कप र २०१९ मा युइएफए नेसन्स लिगको उपाधि जिताए । रोनाल्डो र सान्तोषबीच निकै राम्रो सम्बन्ध रहेको छ ।

‘मेरो विचारमा क्रिस्टियानो ४० वर्षसम्म खेल्न तयार छन् । तर, मेरो विचारमा रोनाल्डोलाई आफू कहिलेसम्म खेल्न सक्छु वा खेल्न गइरहेको छु भन्ने थाहा छैन होला । त्यो बिन्दु ४० हुन सक्छ वा ४२ पनि हुन सक्छ,’ सान्तोषले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘यो प्राकृतिक नियम हो कि, बढ्दो उमेरसँगै मानिसको शारीरिक अवस्था सधैं एकै रहँदैन । रोनाल्डो पनि यो नियमभित्र छन् ।’

सान्तोषले रोनाल्डोको उमेर बढ्दै गए पनि उनको प्रदर्शनमा नखस्किने बताए । ‘उनको उमेर बढ्दै गए पनि उनको प्रदर्शनको स्तरमा कमी आउनेछैन । जब उनी राम्रा गर्न सक्न छाडछन्, उनले फुटबल खेल्न छाड्छन् । तर, जबसम्म मैदानमा हुन्छन्, उनले राम्रो गर्छन्,’ सान्तोषले भने ।

सान्तोषले रोनाल्डोजस्ता जादुयी र महान् खेलाडीको उमेरको हिसाब गरेर समय खेर नफाल्न आलोचकहरूलाई अनुरोध गरे । ‘क्रिस्टियानोको उमेरको हिसाब गरेर समय खेर नफाल्न म उनीहरूलाई सुझाव दिन चाहन्छु, जो उनले चाँडै फुटबल खेल्न छाडून् भन्ने चाहन्छन्,’ सान्तोषले भने, ‘किनभने, उनले यति चाँडै सन्यास लिनेछैनन् । हामी उनलाई अझै थुप्रै वर्ष मैदानमा देख्न पाउनेछौं ।’

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १४:४३
Loading...