‘त्यसोभए रियल मड्रिडले पाएका पेनाल्टी पनि बार्सिलोनालाई दिनू’

एजेन्सी, असोज १३
स्पेनिस क्लब रियल मड्रिडले गत सिजन घरेलु लिग ला लिगा जित्दै गर्दा सिजनको अन्त्यतिर आरोप लाग्यो– खेल खेलाउने रेफ्रीले अनावश्यक पेनाल्टी दिएर रियललाई सहयोग गरे । यस्तो आरोप केवल रियल इतर समर्थकले मात्रै लगाएनन्, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउदेखि उपकप्तान जेरार्ड पिकेसम्मले सार्वजनिक रूपमै लगाए ।

रेफ्रीले रियललाई बढी पेनाल्टी दिएर नजित्ने खेल पनि जित्न सहयोग गरेको र त्यसले लिगको नतिजामै असर परेको पिकेको आरोप थियो । गत सिजन रियलले बार्सिलोनालाई सिजन सकिँदा ५ अंकले पछि पारेर च्याम्पियन बनेको थियो । हालसम्म रियलले ला लिगा कूल ३४ पटक जितेको छ भने बार्सिलोनाले मात्रै २६ पटक ।

यसपटक नयाँ सिजन २०२०–२१ को सुरुआतबाटै रियलमाथि पुनः गत सिजनकै जस्तो आरोप लाग्न थालेको छ । रियलले २ दिनअघि ला लिगामा रियल बेटिसलाई उसकै घरमा २–३ ले हराउँदा अन्तिम समयमा पेनाल्टी पाएको थियो । खेलको ८२औं मिनेटमा पेनाल्टी पाएपछि रियलले गोल गर्दै खेल २–३ ले जितेको थियो ।

अघिल्लो खेल १–१ को बराबरी खेलेको रियलले सो खेलमा पेनाल्टी गोलको मदतमा कठिन जित निकालेको थियो । सो खेलपछि रियललाई रेफ्रीले नपाउने पेनाल्टी दिएर खेल जिताएको आरोप आलोचकहरूले लगाए । मिडियामा सो विषयले राम्रै ठाउँ पनि पायो । खास गरी बार्सिलोनाका समर्थकहरू रियलको सो जित र रेफ्रीको पेनाल्टी दिने निर्णयप्रति खनिए ।

रियलले बुधबार राति ला लिगामा तेस्रो खेल घरेलु मैदानमा भाल्लाडोलिडसँग खेल्दैछ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहगागी हुँदै रियलका प्रशिक्षक जिनेदिन जिदानले पेनाल्टीको विषयलाई लिएर आफ्नो टिम र रेफ्रीको निर्णयमाथि प्रश्न गर्नेहरूलाई कडा जवाफ दिएका छन् । अघिल्लो खेलमा पाएको विवादस्पद पेनाल्टी र त्यसपछिको आलोचनाबारे सोधिएको प्रश्नमा जिदानले मिडियालाई गतिलो जवाफ दिए ।

जिदानले सांकेतिक रूपमा बार्सिलोनाका खेलाडी र समर्थकहरूलाई लक्षित गर्दै यदि रियल मड्रिडले पाउने पेनाल्टी अवैध थिए भन्ने लाग्छ भने नियामक निकायमा उजुरी गर्न सुझाव दिए । ‘यस्तो कुरा सुन्दा मलाई हाँसो लाग्छ । यस्तो विषयमा प्रष्टीकरण दिनुपर्दा मलाई साँच्चै दिक्क लाग्छ । यदि रियल मड्रिडले पाएका पेनाल्टी अवैध थिए भन्ने कसैलाई लागछ भने नियामक निकायमा उजुरी गर्दा हुन्छ,’ जिदानले आक्रोशित हुँदै भने ।

पेनाल्टीको विषयमा लिएर आलोचना गर्ने बार्सिलोनाका अध्यक्ष, खेलाडी र आलोचना गर्ने फ्यानहरूप्रति लक्षित गर्दै जिदानले नाम नतोकी आफूहरूले पाउने पेनाल्टी पनि बार्सिलोनालाई नै दिन सुझाव दिए । ‘रियल मड्रिडले पेनाल्टी गोल गर्दा नियमबिपरीत हुन्छ भने हामीले पाउने पेनाल्टी पनि उनीहरूलाई नै दिनू, जसले हाँस्यास्पद आलोचना गरिरहेका छन् ।’

जिदानले पेनाल्टी पनि फुटबलकै एक पाटो रहेको भन्दै आलोचना गर्नु लाजमर्दो रहेको बताए । ‘यदि उनीहरू नियम मान्दैनन्, रेफ्री मान्दैनन् र भिएआर मान्दैनन् भने किन फुटबल खेलिरहेका छन् ? मेरो विचारमा यस्ता कुरा गर्नु लज्जास्पद हुन्,’ जिदानले भने ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १३:१६
Loading...