च्याम्पियन्स लिग जित्न युभेन्टसका नयाँ कमान्डर ‘तुफानी टिम’ बनाउँदै

एजेन्सी, असोज १३
इटालियन क्लब युभेन्टसका नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले नयाँ सिजन २०२०–२१ लाई सफल सिजन बनाउने तयारी अन्तिम चरणमा पुराएका छन् । गत सिजनको अन्त्यसँगै माउरिसियो सार्रीलाई बर्खास्त गरेर क्लबले लिजेन्ड खेलाडीसमेत रहेका पिर्लोलाई टोलीको नयाँ कमान्डर बनाएको छ । पिर्लो आएसँगै उनले टोलीमा परिवर्तनका लागि काम थालेका थिए ।

युभेन्टसले प्रि–सिजन मैत्रीपूर्ण खेलसहित सिजनको पहिलो सिरी ए लिगको खेलमा सहज जित निकालेर लिगमा सुखद् सुरुआत गरेको थियो । पिर्लो यस सिजन आफ्नो पहिलो इनिङमा युभेन्टसलाई तीनवटै घरेलु प्रतियोगिताका साथै युरोपको सबैभन्दा ठूलो च्याम्पियन्स लिग जिताउने अभियानमा छन् । युभेन्टसले सन् १९९६ यता यो प्रतियोगिता जित्न सकेको छैन ।

पहिलो सिजन : लक्ष्य सबै उपाधि

पिर्लो स्पष्ट रूपमा नयाँ सिजनमा सकेसम्म धेरै उपाधि जित्न चाहन्छन् । गत सिजन घरेलु लिग सिरी ए मात्रै जितेको युभेन्टस यसपटक सबै उपाधिको च्याम्पियन बन्ने होडमा छ । उसको लक्ष्य लगातार १०औं पटक सिरी ए जित्नु मात्रै नभएर कोपा इटालिया र सुपर कप पनि हुनेछन् ।

योभन्दा ठूलो कुरा पिर्लो युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन बढी केन्द्रित छन् । उनले टोली सम्हालेकै दिन च्याम्पियन्स लिग जित्नु र जिताउनु विशेष हुने बताएका छन् । साथै, उनले युभेन्टस त्यसका लागि सक्षम टोली रहेको पनि बताएका छन् ।

उमेर ढल्केका खेलाडी आउट, युवा खेलाडीको इन्ट्री

पिर्लो आएदेखि युभेन्टसले बढ्दो उमेरका खेलाडीलाई क्रमशः बिदा गर्ने काम थाल्यो । सुरुआतमा ३३ वर्षीय फ्रेन्च मिडफिल्डर ब्लाइसी माटुइडीसँगको सम्झौता भंग गरेपछि उनी फ्री ट्रान्सफरमा अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भए । त्यसपछि ३० वर्षीय मिरालेम पियानिचलाई साटफेर डिलमा स्पेनिस बार्सिलोना पठायो । पियानिच युभेन्टसको टोलीमा मिडफिल्ड सम्हाल्ने सबैभन्दा प्रमुख खेलाडी थिए । तर, उनलाई बार्सिलोना पठाएर सोही क्लबबाट सट्टामा २३ वर्षीय युवा मिडफिल्डर अर्थुर मेलो भित्र्यायो ।

युभेन्टसले जर्मन क्लब शाल्केबाट लोनमा २२ वर्षीय अमेरिकन मिडफिल्डर वेस्टन म्याकेनीलाई पनि भित्र्याएको छ । पिर्लोले नयाँ सिजनमा उनलाई सम्माजनक स्थान दिने पक्का छ ।

युभेन्टसले ३२ वर्षीय अर्का फरवार्ड गोन्जालो हिगुइनलाई पनि यसैपटक बिदा गरिदियो । पिर्लोकै योजनामा उनीसँगको सम्झौता खारेज गरेर फ्री ट्रान्सफरमा बिदा गरिएको हो । अर्जेन्टिनी फरवार्ड उनी पनि माटुइडी गएकै क्लब मियामी अनुबन्ध भए ।

नयाँ खेलाडीको उपस्थितिले टिम मजबुत

पिर्लो नयाँ प्रशिक्षक बनेपछि उनले टोलीमा युवा खेलाडीको उपस्थिति बढाउँदै लगेका छन् । पिर्लोकै योजनाअनुसार पियानिचलाई ६५ मिलियन युरोमा बार्सिलोना पठाएर ब्राजिलियन अर्थुरलाई ७५ मिलियनमा भित्र्याउँदा मिडफिल्डमा क्रिएटिभ खेलाडी आइपुगेका छन् । अर्थुर नयाँ सिजन आफ्नो योजनामा रहने पिर्लोले स्पष्ट पारेका छन् । उनले लिगको दोस्रो खेलमा रोमासँग खेल्दै डेब्यु गरिसकेका छन् ।

त्यसपछि युभेन्टसले पार्माबाट युवा मिडफिल्डर डेजान सुलुसेभ्स्की भित्र्यायो । यो समयका प्रतिभावान् युवा मिडफिल्डरहरूमध्ये स्वीडेनका मिडफिल्डर एक हुन् । २० वर्षका युवा खेलाडीमाथि पिर्लोले निकै ठूलो विश्वास देखाएका छन् । उनले प्रि–सिजन खेलमा क्रिस्टियानो रोनाल्डोको गोलमा असिस्ट गरेर सिरी ए लिगअन्तर्गत सिजनको अफिसियल डेब्यु खेलमै गोल पनि गरेका थिए । साम्पडोरियाविरुद्ध उनले क्रिस्टियानो रोनाल्डोकै असिस्टमा गोल गरेका थिए । उनले नयाँ सिजनमा पिर्लोको सेटमा मुख्य भूमिका पाउने पक्का छ ।

युभेन्टसले हालसालै स्पेनिस एथ्लेटिको मड्रिडबाट पूर्वखेलाडी अल्भारो मोराटालाई एकवर्षे लोनमा अनुबन्ध गरेको छ । उनले यसअघि पनि युभेन्टसमा दुई सिजन खेलिसकेका छन् । पिर्लोले उनलाई हिगुइनको स्थानमा पहिलो रोजाइमा प्रयोग गर्नेछन् । मोराटा आइपुगेपछि युभेन्टसको फरवार्ड लाइनमा रोनाल्डो, पाउलो डिबाला र मोराटाजस्ता भरपर्दा खेलाडी हुनेछन् ।

इस्को र किनमध्ये एक भित्र्याउने प्रयास

इटालियन मिडियाका रिरपोर्टअनुसार पिर्लो समर विन्डो बन्द हुनुअघि नै अझै एक महत्त्वपूर्ण खेलाडी भित्र्याउने कसरतमा छन् । उनले पहिलो रोजाइमा स्पेनिस रियल मड्रिडका प्ले मेकर इस्कोलाई राखेका छन् । विगतबाटै इस्कोलाई एकदमै मन पराउने पिर्लोले इस्को युभेन्टस आइपुगे मिडफिल्डमा उल्लेख्य सुधार हुने र ठूला उपाधिको दाबेदारी थप बलियो हुने ठानेका छन् ।

यदि इस्को भित्र्याउन नसके पिर्लोले पूर्वखेलाडी मोइसे किनलाई फिर्ता गराउने विकल्प राखेका छन् । २०१९ मा युभेन्टसले युवा फरवार्ड किनलाई इंलिस क्लब एभर्टनमा बेचेको थियो । फरवार्ड लाइनमा खेलाडी कम रहेकाले वैकल्पिक खेलाडीमा राम्रा खेलाडीको जोहो गर्न पिर्लोले किनलाई पनि विकल्पमा राखेका छन् । तर, पिर्लोको पहिलो योजनामा भने इस्को नै हुनेछन् ।

बन्ला त तुफानी टिम ?

पिर्लोले पद सम्हालेपछि आफूले आफ्नै शैलीको खेल खेलाउने बताएका छन् । युभेन्टसले डिफेन्सिभ खेल शैलीलाई ध्यान दिने र धेरैभन्दा धेरै बल आफूसँग राखेर खेल्ने पिर्लोले बताएका छन् । इटालियन मिडियाका अनुसार पिर्लोले नयाँ सिजनमा मिडफिल्डरलाई धारिलो र क्रिएटिभ बनाउने रणनीतिसाथ टोली बनाउनेछन् । इटालीको चर्चित खेल पत्रिका ‘टुट्टो स्पोर्ट्स’ का अनुसार पिर्लोले नयाँ सिजनमा फरवार्ड लाइनमा रोनाल्डोसँगै डिबाला र मोराटालाई प्रमुख योजनामा राख्नेछन् । फेडरिको बर्नान्डेची र डग्लस कोस्टा विकल्पमा उपलब्ध हुनेछन् ।

अहिले युभेन्टसको मिडफिल्डमा खेलाडीको बाक्लै भिड छ । उसले २ जनासम्म मिडफिल्डर बेच्ने सम्भावना छ । अहिले मिडफिल्डरमा रोड्रिगो बेन्टाकुर, राबिओट, आरोन राम्से, जुआन काउडराडो, सामी खेडेरियादेखि नयाँ खेलाडीमा डेजान कुलुसेभ्स्की, अर्थुर मेलो र लोनमा आएका म्याकेनीसहितका खेलाडी छन् । यीमध्ये पिर्लोले बेन्टाकुर, राम्से, अर्थुर, सुलुसेभ्स्की, राबिओट र म्याकेनीलाई मुख्य योजनामा राख्नेछन् ।

पिर्लोको पालामा डिफेन्सभमा कप्तान जर्जियो चिलिनी, उपकप्तान लियान्द्रो बोनुची, माथिस डि लिग्ट, मेरिह डेमिराल, ड्यानिलो, ड्यानिएल रुगानीसहितका खेलाडी हुनेछन् । रुगानीलाई स्पेनिस क्लब भ्यालेन्सियाले भित्र्याउने सम्भावना छ । युभेन्टसको रक्षापंक्तिमा यस सिजन अनुभवी चिलिनी, बोनुचीसहित युवा खेलाडीद्वय डि लिग्ट र डेमिराल पहिलो रोजाइमा हुनेछन् ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०९:०८
Loading...