‘मेस्सीको भूमिका’ बारे अर्जेन्टिनी प्रशिक्षकद्वारा बार्सिलोनाका प्रशिक्षकलाई यस्तो जवाफ

एजेन्सी, असोज १३
अर्जेन्टिनाका निमित्त प्रमुख प्रशिक्षक लिओनल स्कालोनीले आफ्ना कप्तान लिओनल मेस्सीको भूमिका र पोजिसन राष्ट्रिय टोलीमा कस्तो हुने भन्ने विषयमा स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई जवाफ दिएका छन् । २ दिनअघि बार्सिलोनाले ला लिगाको पहिलो खेलमा आफ्नो घरमा भिल्लारियललाई ४–० ले हराएपछि मिडियासँग कुरा गर्दै डच म्यानेजर कोम्यानले आफ्नो नेतृत्वमा मेस्सीले जुनसुकै पोजिसन (फल्स नम्बर नाइन) बाट खेल्ने र आफूले त्यसैअनुसार प्रयोग गर्ने बताएका थिए ।

बार्सिलोनामा कोम्यानले अर्को फरवार्ड एन्टोनी ग्रीजम्यानलाई मेस्सीले खेल्दै आएको पोजिसनबाट खेलाउने बताइसकेका छन् । टोलीमा ग्रीजम्यानको भूमिका बढाउन मेस्सीलाई आवश्यकताअनुसार फरक–फरक पोजिसनबाट खेलाउने कोम्यानको तयारी छ । भिल्लारियलसँगको खेलमा मेस्सीले पेनाल्टीमार्फत् १ गोल गरेका थिए ।

खेलपछि मिडियासँग कुरा गर्दै कोम्यानले भनेका थिए– ‘मेस्सीलाई कुन पोजिसनबाट खेलाउने भन्नेमा मलाई कुनै समस्या छैन । उनले आफ्नै पोजिसनबाट खेल्नु आवश्यक छैन । किनभने, उनी आवश्यकतअनुसार जुनसुकै पोजिसनबाट खेल्न सक्छन् । म उनलाई त्यसैअनुसार प्रयोग गर्नेछु ।’

अर्को महिना फिफा विश्वकप छनौट खेलको तयारीमा रहेको अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले एक अन्तर्वार्तामा कुरा गर्दै बार्सिलोनाका कोम्यानको योजना र ढाँचामा आफूले विश्वास नगर्ने साथै अर्जेन्टिनी टोलीमा त्यो नहुने स्पष्ट पारे । ‘कोम्यानको योजनामा म विश्वास गर्दिनँ । मेस्सीले जहाँबाट पनि खेल्न सक्छन्, यो साँचो हो । तर, टिमलाई सधैं नतिजा र धेरै गोल चाहिन्छ भने उनलाई आफ्नै पोजिसनमा राख्नुपर्छ,’ स्कालोनीले भने ।

स्कालोनीले अघि थपे, ‘यसो गर्दा टिमको फ्रन्ट लाइन सधैं एक गति र ढाँचामा हुन्छ । साथै प्रशिक्षकमाथि हरेक खेलमा नयाँ योजना र रणनीतिबारे चिन्ता हुँदैन । मेरो मान्यता यो छ कि, जब आफ्नो पोजिसनमा अभ्यस्त मेस्सीजस्ता खेलाडीको भूमिका बदलेर परीक्षण गर्नतिर लागिन्छ, त्यसको असर अन्य खेलाडीको पोजिसन र प्रदर्शनमा पनि पर्छ । अन्ततः त्यसले खेलको नतिजामै असर पार्न सक्छ ।’

स्कालोनीले अर्जेन्टिनी टोलीमा मेस्सीले १० नम्बर भूमिकामै खेल्ने बताए । ‘हाम्रो मान्यता र रणनीति सधैं एउटै छ कि– मेस्सी सधैं विपक्षी टिमको रक्षापंक्ति क्षेत्रमा हुनुपर्छ । खेल जित्न गोल चाहिन्छ । र, मेस्सी त्यहाँ हुँदा गोल निस्किन्छ । हामी मेस्सीबिनाको फ्रन्ट लाइन सोच्न सक्दैनौं ।’

मेस्सीले अर्को महिना हुने विश्वकपका दुई छनौट खेलमा उच्च प्रदर्शन गर्ने विश्वास स्कालोनीले लिए । ‘यदि उनी ठीकठाक राष्ट्रिय टोलीमा फर्किए भने उनले उच्च स्तरमा प्रदर्शन गर्न नसक्ने कुनै कारण म देख्दिनँ । टिमलाई अघि बढाउन उनी यहाँ हुनु जति आवश्यक छ, उच्च प्रदर्शन गर्नु त्योभन्दा बढी आवश्यक छ । किनभने, यी विश्वकप खेल्ने छनौट खेल हुन् ।’

विश्वकप छनौट खेलअन्तर्गत अर्जेन्टिनाले अक्टोबर ८ तारिखमा घरेलु मैदानमा इक्वेडरसँग खेल्नेछ । त्यसपछि दोस्रो खेल ५ दिनपछि अवे मैदानमा बोलिभियासँग खेल्नेछ । यी दुवै खेलमा मेस्सी उपलब्ध हुनेछन् । मेस्सीले हालसम्म राष्ट्रिय टोलीमा कूल ७० गोल गरेका छन् । उनी बार्सिलोना र अर्जेन्टिनी दुवै टोलीका कप्तान हुन् ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०६:१३
Loading...