मेस्सी र नेइमार दुवैको गोलभन्दा रोनाल्डो एक्लैको धेरै गोल !

काठमाडौं, असोज १३
वर्ष २०२० मा युरोपियन टप–५ लिग खेल्नेमध्ये धेरै गोल गर्ने खेलाडीमा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडि देखिएका छन् । हालसम्मको तथ्यांकअनुसार ३५ वर्षका पोर्चुगिज फरवार्ड रोनाल्डो कूल ३० गोलसहित वर्षको सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन् ।

२०२० भित्रमा रोनाल्डोले क्लब र देश पोर्चुगलका लागि गरी कूल २८ खेलबाट ३० गोल गरेका छन् । उनले ५ गोलमा असिस्ट पनि गरेका छन् । जसमा उनले क्लबका लागि २८ गोल र पोर्चुगलका लागि २ गोल गरेका छन् ।

यता, रोनाल्डोपछि जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोेस्की दोस्रो स्थानमा छन् । उनले वर्ष २०२० मा यहाँसम्म आइपुग्दा कूल २४ गोल गरेका छन्, जुन रोनाल्डोको भन्दा ६ गोलले कमी हो । उनले गरेका सबै गोल क्लब बार्यनका लगि मात्रै छन् ।

यस वर्ष यहाँसम्मको तथ्यांकमा युरोपियन टप–५ लिगमा गोल गर्ने मामिलामा रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र फ्रेन्च क्लब पिएसजीका नेइमार गरी दुवैको संयुक्त गोल संख्यालाई पनि उछिनेका छन् । यस वर्ष हालसम्म मेस्सीले १७ र नेइमारले १० गोल मात्रै गरेका छन् ।

दुवैको गोल संख्या जोड्दा कूल २७ हुन्छ, जुन युभेन्टसका रोनाल्डो एक्लैले गरेको गोल संख्याभन्दा ३ गोलले कमी हो । अर्थात्, मेस्सी र नेइमार दुवैले यस वर्ष हालसम्म कूल २७ गोल गरेका छन् भने रोनाल्डो एक्लैले ३० गोल गरिसकेका छन् ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०४:५९
Loading...