सेभिल्ला ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, भदौ ८
सेभिल्ला स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा चढेको छ । गत राति भएको लिगको दोस्रो खेलमा सेभिल्लाले अवे मैदानमा ग्रानाडामाथि ०–१ को कठिन जित निकाल्यो ।

यससँगै रियल मड्रिडका पूर्वप्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको सेभिल्लाले रियल मड्रिडलाई नै पछि पार्दै लिगको पहिलो स्थान लिएको छ । लोपेटेगुई गत सिजन रियलबाट बर्खास्तमा परेपछि सेभिल्लामा नियुक्त भएका थिए ।

ग्रानाडालाई उसकै घरमा हराउनेक्रममा जोआन जोर्डनले खेलको ५२औं मिनेटमा गोल गरेका थिए । उनले बक्सभित्र कठिन अवस्थामा गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि सेभिल्लालाई ३ अंक जोड्न सोही गोल नै पर्याप्त बन्यो । अब सेभिल्ला २ खेलबाट शतप्रतिशत जित निकालेर ६ अंकसहित लिगको सिरानमा छ । एक खेल कम खेलेको रियल ३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०२:०५
Loading...