लिभरपुलको लगातार तेस्रो सिजन : आर्सनलको पहिलो हार

काठमाडौं, असोज १३
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुलले लिगको तेस्रो खेलमा सहज जित निकालेको छ । गत राति भएको खेलमा लिभरपुलले आफ्नो घरेलु मैदानमा पाहुना टोली आर्सनलमाथि ३–१ को कमब्याक जित निकालेको हो । यससँगै लिभरपुलले नयाँ सिजनमा आफ्नो विजयी यात्रालाई कायमै राख्न पनि सफल भएको छ ।

पाहुना टोली आर्सनलले खेलको २५औं मिनेटमा एलेक्जेन्डर लाकाजेटको गोलबाट अग्रता लिएको थियो । लिभरपुलका डिफेन्डर रोवर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेटले सजिलैसित गोल गरेका थिए । तर, आर्सनल सम्हालिन सकेन ।

गोल खाएको ३ मिनेटपछि नै लिभरपुलका लागि साडियो मानेले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए । त्यसपछि खेलको ३४औं मिनेटमा रोवर्टसनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेल सकिन २ मिनेट बाँकी छँदा हालै क्लबका आएका फरवार्ड डिएगो जोटाले गोल गरेपछि खेल लिभरपुलले ३–१ ले जित्यो ।

अब लिभरपुलले सुरुका ३ खेलमा सबै खेल जितेर ९ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ । यसअघिका २ खेल जितेको आर्सनल ६ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०१:५७
Loading...