म मेस्सीबाट धेरै कुरा सिकिरहेको छु : फाती

एजेन्सी, असोज १२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले आफूले कप्तान लिओनल मेस्सीबाट बिस्तारै–बिस्तारै धेरै कुरा सिकिरहेको बताएका छन् । अघिल्लो दिन बार्सिलोनाले नयाँ सिजनअन्तर्गत ला लिगाको पहिलो खेलमा आफ्नो घरेलु मैदानमा भिल्लारियललाई ४–० ले हराएपछि फातीले बार्सा टिभीसँग कुरा गर्दै मेस्सीको प्रशंसा गरे ।

क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई फराकिलो जित दिलाउन ४ मिनेटको बीचमा फातीले २ गोल गरेका थिए । उनले १५औं मिनेट र १९औं मिनेटमा गोल गरे । सिजनको पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शनका साथ फातीले २ गोल गरेर आफू नयाँ सिजनका लागि आफू रहेको सन्देश दिए ।

‘म सधैं आफूलाई सुधार गर्न चाहन्छु । म मेरा सहकर्मीबाट सिक्न चाहन्छु । किनभने, मेरो वरिपरि विश्वकै उत्कृष्ट खेलाडीहरू छन् । यहाँ उनीहरूले मलाई धेरै सहयोग गरिरहेका छन्, यो मेरा लागि धेरै राम्रो कुरा हो,’ फातीले भनेका छन् ।

फातीले कप्तान मेस्सीले आफूलाई धेरै कुरा सिकाइरहेको भन्दै प्रशंसा गरे । ‘मेस्सीसँग खेल्नु मेरा लागि एक सपना हो । आज म जुन समय बाँचिरहेको छु, त्यो मेरो बाल्यकालको सपना थियो । मेस्सीले सधैं मलाई सुझाव दिइरहेका हुन्छन् । उनले मलाई धेरै नै माया गर्छन् । प्रशिक्षण र खेल दौरान मात्रै नरहेर उनले मलाई अनौपचारिक भेटघाटमा पनि सिकाइरहेका हुन्छन् । उनीबाट धेरै कुरा सिकिरहेको छु ।’

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १५:५०
Loading...