रोमासँगको बराबरीपछि पिर्लोद्वारा रोनाल्डोको शानदार तारिफ

एजेन्सी, असोज १२
इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्ड्रेया पिर्लोले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । गत राति युभेन्टसले सिरी ए लिगमा सिजनको दोस्रो खेल अवे मैदानमा रोमासँग २–२ गोलको बराबरी खेलेपछि मिडियासँग कुरा गर्दै पिर्लोले रोनाल्डो आफूहरूको टोलीमा हुनु भाग्यको कुरा रहेको बताएका छन् ।

रोमाको घरमा भएको खेलमा युभेन्टस दुई–दुईपटक गोल खाएर पछि परेको थियो । सोक्रममा रोनाल्डोले पहिलो गोल पेनाल्टीबाट गर्दै खेल १–१ बनाएका थिए भने युभेन्टस १० खेलाडीमा झरेका बेला दोस्रो गोल खाएर २–१ ले छि परेका बेला रोनाल्डोले नै शानदार हेड्रिङ गोल गर्दै टिमलाई हारबाट बचाएका थिए । रोनाल्डोले निकै माथि उफ्रिएर गरेको सो हेडिङ गोलको चर्चा राम्रै भयो ।

सो खेलपछि पिर्लोले रोनाल्डोले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गर्दै टिमलाई हारबाट बचाउन सहयोग गरेकोमा खुसी व्यक्त गरे । ‘उनले खेलमा केही न केही फरक गर्नेमा विश्वास मलाई र सहकर्मीलाई सधैं हुन्छ । त्यसका लागि उनले सधैं गोल गर्न पर्दैन । गोल नगरे पनि टिमलाई अघि बढाउन उनले सहयोग गर्छन्,’ पिर्लोले भने, ‘आज उनले जस्तो प्रदर्शन गरे, त्यो शानदार हो । उनको दोस्रो गोलका कारण हामी हार्नबाट बच्यौं । म क्रिस्टियानोप्रति एकदमै खुसी छु ।’

पिर्लोले युभेन्टस ६२औं मिनेटमा १० खेलाडीमा झरेपछि रोनाल्डोले अझै बढी मेहनत गरेको बताए । ‘क्रिस्टियानो हामीसँग हुनु भाग्यको कुरा हो । जब हामी १० खेलाडीमा सीमित भयौं, उनी अझै दौडिए र अझै बढी गोलका लागि प्रयास गरे । टिम कठिन अवस्थामा रहेका बेला उनले गोल गरेर टिमलाई हारबाट बचाए । हामी खुसी छौं,’ पिर्लोले भने ।

गत रातिको २ गोलसँगै रोनाल्डोले नयाँ सिजन सुरु भइकन युभेन्टसका लागि २ खेलबाट ३ गोल गर्दै १ असिस्ट गरेका छन् । वर्ष २०२० मा उनले क्लब र देशका लागि गरी कूल २८ खेलबाट ३० गोल गर्दै ५ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १४:२४
Loading...