फातीको प्रदर्शनबाट कोम्यान मक्ख : ग्रीजम्यानबारे के भने ?

एजेन्सी, असोज १२
स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिसजन २०२०–२१ को पहिलो ला लिगामा खेलमा गत राति ४–० को सहज जित निकाल्यो । आफ्नो घरेलु मैदानमा बार्सिलोनाले भिल्लारियलमाथि फराकिलो जित निकाल्दै सिजनको थालनी गर्दा युवा स्टार अन्सु फातीले ५ मिनेटको २ गोल गरे भने कप्तान लिओनल मेस्सीले पनि पेनाल्टीमार्फत् १ गोल गरेर नयाँ सिजनको खाता खोले ।

बार्सिलोनाले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वामा पहिलो लिग खेल जित्दै उनको स्वागत गर्न सफल भयो । सो खेलपछि डच म्यानेजर कोम्यानले आफ्ना युवा खेलाडी फातीको खुलेर प्रशंसा गरेका छन् । फातीले खेलको १५औं मिनेटमा पहिलो गोल गरेका थिए भने १९औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

खेलपछि बार्सिलोनाको अफिसियल टिभीसँग कुरा गर्दै कोम्यानले भिल्लारियलविरुद्ध फातीले उच्चस्तरको प्रदर्शन गरेको बताए । प्रि–सिजन खेलमा उनको प्रदर्शनबाट आफू खुसी नभएको र आफूले उनको आलोचनासमेत गरेको कोम्यानले बताए । ‘प्रि–सिजनको खेलमा मलाई उनको प्रदर्शन मन परेको थिएन । मैले उनीसँगै यसको आलोचना गरेको थिएँ,’ कोम्यानले भने, ‘तर, आज उनले साँच्चै राम्रो गरे । खास गरी विङबाट उनले धेरै राम्रो गर्न सक्ने मैले देखें । आज उनले मेरो मन जिते ।’

कोम्यानले फाती युवा प्रतिभा भएको भन्दै उनले नियमित खेलेर आफ्नो स्तरमा अझै उल्लेख्य सुधार गर्ने बताए । ‘फाती युवा प्रतिभा हुन् । यही स्तरमा उनको खेल विकास गर्न हामीले उनलाई अनुभवी खेलाडीसँग अझै धेरै खेल्ने समय दिनुपर्छ । खुसीसाथ भन्नुपर्दा मैले उनको अगाडि विशाल भविष्य देखिरहेको छु,’ कोम्यानले भने ।

यता, कोम्यानले फ्रेन्च फरवार्ड एन्टोनी ग्रजिम्यानको विषयमा पनि धारणा राखे । गत रातिको खेलमा ७८औं मिनेटमा ट्रिनकाओले ग्रीजम्यानलाई प्रतिस्थापन गरेका थिए । सुरुआतबाटै खेले पनि ग्रीजम्यानले खेलमा गतिलो प्रभाव देखाउन सकेनन् । तर, कोम्यानले भने ग्रीजम्यानबाट एकदमै खुसी रहेको बताए ।

‘आज उनले गोल गर्न सकेनन् । तर, उनले अन्य हिसाबले राम्रो गरे । उनीबाट म एकमै खुसी छु । एकै खेलमा सबै खेलाडीले गोल गर्न सक्दैनन् । आगामी खेलमा उनले आफ्नो काम गर्नेछन्,’ कोम्यानले भने ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १०:३७
Loading...