रोनाल्डोद्वारा एकसाथ तीन कोसेढुंगा पूरा

काठमाडौं, असोज १२
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एकसाथ तीन रेकर्ड बनाएका छन् । गत राति युभेन्टसले सिरी ए लिग फुटबलमा अवे मैदानमा रोमासँग २–२ को बराबरी खेल्नक्रममा रोनाल्डोले २ गोल गरेका थिए । दुई–दुईपटक टिम पछि परेको स्थितिमा रोनाल्डोले नै २ गोल गरेर टिमलाई हारबाट बचाएका थिए । नयाँ सिजन सुरु भइकन ३५ वर्षीय रोनाल्डोले सुरुका दुई खेलबाट ३ गोल गर्दै १ गोलमा असिस्ट गरेका छन् ।

युरोपियन टप–५ लिगमा ४५० गोल गर्ने पहिलो खेलाडी

पोर्चुगलका फरवार्ड रोनाल्डो युरोपका टप–५ लिगमा ४५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । गत रातिको २ गोलको मदतमा रोनाल्डो शीर्ष लिगमा फरक–फरक टोलीबाट खेल्दै ४५० गोलको महत्त्वपूर्ण कोसेढुंगा पूरा गरेका हुन् । रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेडका लागि १९६ खेलबाट ८४ गोल गरेका छन् । त्यसपछि स्पेनिस रियल मड्रिडका लागि २९२ खेलबाट ३११ गोल गरेका छन् । हालको क्लब युभेन्टसका लागि उनले ६६ खेलबाट ५५ गोल गरेका छन् ।

१४औं वर्ष ३० गोल पूरा

रोनाल्डोले आफ्नो सिनियर करिअरका १४ वर्ष लगातार कम्तीमा ३० गोल पूरा गरेका छन् । गत रातिको २ गोलसँगै उनले वर्ष २०२० मा क्लब र देशका लागि गरी ३० गोल पूरा गरेका हुन् । गत रातिको खेलअघि उनका नाममा २८ गोल थियो । यस वर्ष यहाँसम्म आइपुदा उनले २८ खेलबाट ३० गोल गर्दै ५ गोलमा पास मिलाएका छन् ।

रोनाल्डो वर्ष २०२० का सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनीपछि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की छन् । उनले कूल २४ गोल गरेका छन् । नयाँ सिजन सुरु भइकन उनले रोनाल्डोले क्लब र देशका लागि गरी ३ खेलबाट ५ गोल गर्दै ३ गोलमा असिस्ट गरेका छन् ।

हिगुइनको सर्वाधिक गोल संख्यालाई पछि पारे

रोनाल्डोले युभेन्टसका पूर्वखेलाडी गोन्जालो हिगुइनको कूल गोल संख्यालाई उछिनेका छन् । हिगुइनले फरक–फरक समय युभेन्टसबाट १४९ खेल खेल्दै कूल ६६ गोल गरेका थिए । तर, अब हिगुइनलाई रोनाल्डोले २ गोलले उछिनेका छन् । रोनाल्डोले युभेन्टसका लागि मात्रै ९१ खेलबाट ६८ गोल गरेका छन् ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०७:३३
Loading...