सेभिल्लाको विजयी सुरुआत : डेब्यु खेलमै राकिटिकको गोल

काठमाडौं, असोज १२
स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले नयाँ सिजनको पहिलो खेलमा सहज जित निकालेको छ । गत राति भएको सिजनको पहिलो खेलमा सेभिल्लाले यसै सिजन शीर्ष लिगमा बढुवा भएको क्याडिजमाथि १–३ को जित निकाल्यो ।

गत सिजन युरोपा लिगको च्याम्पियन बनेको सेभिल्लाले तेस्रो साताको खेलबाट मात्रै नयाँ सिजनको थालनी गरेको हो । अवे मैदानमा सेभिल्लालाई जिताउन ३ जना खेलाडीले गोल गर्दा हालसालै क्लबमा अनुबन्ध भएका इभान राकिटिकले पनि डेब्यु खेलमै गोल गरे ।

सेभिल्लाका लागि खेलकोे ६५औं मिनेटमा लुका डे जोङले पहिलो गोल गरेका थिए । त्यसपछि सेभिल्लाले २ गोल ९० मिनेटपछि गरेको थियो । ९०औं मिनेटमा मुनिएर हदादीले टिमका लागि दोस्रो गोल गरे । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा इभान राकिटिकले हदादीकै पासमा गोल गरेरपछि खेल सेभिल्लाले १–३ ले जित्यो ।

क्रोएसियन खेलाडी राकिटिक बार्सिलोना छाडेर हालसालै सेभिल्लामा अनुबन्ध भएका हुन् । उनी सन् २०१४ मा सेभिल्लाबाटै बार्सिलोना पुगेका थिए । ६ वर्षपछि उनी पुनः बार्सिलोना छाडेर सेभिल्ला नै फर्किएका हुन् । सेभिल्लामा दोस्रोपटक अनुबन्ध भएका उनले डेब्युमै गोल गरेर आफ्नो नयाँ यात्रालाई सुखद् बनाए ।

अब सेभिल्लाले सिजनको पहिलो खेलबाटै ३ अंक बटुलेको छ । ऊ अंक तालिकाको ११औं स्थानमा छ । पराजित क्याडिज ३ अंकसहित १५औं स्थानमा छ ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०३:०२
Loading...