सिरी ए : रोनाल्डोको २ गोलमा युभेन्टस हारबाट जोगियो

काठमाडौं, असोज १२
क्रिस्टियानो रोनाल्डो एक शानदार हेडिङसहित २ गोल गरेपछि युभेन्टस सिरी ए घरेलु लिगमा हारबाट जोगिएको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको लिगको दोस्रो खेलमा युभेन्टसले रोमासँग उसैको घरेलु मैदानमा २–२ को बराबरी खेलेको हो । युभेन्टस खेलको ६२औं मिनेटमा १० खेलाडीमा झरेको थियो । मिडफिल्डर राबिओट दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेका थिए ।

रोमाको घरमा खेलमा दुईपटक पछि परेको अवस्थामा युभेन्टसलाई हारबाट जोगाउन रोनाल्डो नायक बने । दुवैपटक उनले टिमका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । यससँगै रोनाल्डोले लिगका सुरुआती २ खेलबाट ३ गोल गर्दै १ गोलमा असिस्ट पनि गरेका छन् ।

घरेलु टोली रोमाले खेलको ३१औं मिनेटमा पेनाल्टी गोलमार्फत् खेलमा अग्रता लिएको थियो । पेनाल्टी जोर्डन भेरेटोउटले गरेका थिए । त्यसपछि पहिलो हाफको ४४औं मिनेटमा युभेन्टसले पनि पेनाल्टी पायो, जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरेर खेल १–१ को बराबरी बनाए । तर, इन्जुरी समयमा रोमाका लागि जोर्डनले नै व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत युभेन्टसका लागि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल खेलको ६९औं मिनेटमा गरे । ड्यानिलोले मैदानको माथिल्लो भागबाट दिएको हाई पासमा रोनाल्डोले निकै माथि जम्प गरेर बललाई भुइँ दाबेर दर्शनीय हेडिङ गोल गरेका थिए । उनको हेडिङ प्रहार रोमाका गोलकिरपले रोक्ने मौका नै पाएनन् ।

त्यसपछि खेलमा थप गोल भएन । र, खेल २–२ को बराबरीमा टुंगियो । यससँगै युभेन्टसले लिगका सुरुआती २ खेलबाट ४ अंक जोडेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । नापोली, भेरोना र एसी मिलानले सुरुआत २ वटै खेल जितेका छन् । रोमाले यसै खेलबाट बराबरी गर्दै १ अंक जोडेको छ । उसले पहिलो खेल हारेको थियो ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार २०:१६
Loading...