‘प्रिय मित्र स्वारेजलाई मेस्सीको भावुक बिदाइ सन्देश– ‘चाँडै भेटौंला साथी’

एजेन्सी, असोज १२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीले भर्खरै क्लब छाडेका आफ्ना सहकर्मी लुइस स्वारेजलाई बिदाइ सन्देश दिएका छन् । ‘पूर्वसहकर्मी’ बनिसकेका उरुग्वेन फरवार्डलाई मेस्सीले सामाजिक सन्जालमार्फत् बिदाइ सन्देश दिएका हुन् ।

सन् २०१४ देखि बार्सिलोनामा अत्यन्तै नजिकका साथी बनेर खेल्दै आएका स्वोजलाई बिदाइ सन्देश दिँदा मेस्सी क्लब बार्सिलोमाथि खनिएका छन् । उनले स्पष्ट रूपमा क्लबप्रति कटाक्षेप गरेका छन् । मेस्सीले सन्देशमा बार्सिलोनाले स्वारेजलाई अपमानजनक ढंगले लखेटेको बताएका छन् ।

बार्सिलोनाले एक वर्षको सम्झौता बाँकी छँदै सम्झौता भंग गरेर स्वारेजलाई ला लिगाको प्रतिस्पर्धी एथ्लेटिको मड्रिडमा निःशुल्क पठाएको छ । स्वारेजले बार्सिलोनामा ६ वर्ष बिताउँदा सधैं क्लबका लागि एक प्रमुख खेलाडी बनेर रहे । कप्तान मेस्सीसँग उनी नजिकका साथी बनेर बिताए । मेस्सीको बिदाइको दिन लकर रुममा सँगै खिचेको तस्बिरसँगै मेस्सीले बिदाइ सन्देश लेखेका छन् ।  मेस्सीले इन्स्टाग्राममा लेखेको सन्देश यस्तो छ–

‘मैले यो कुरा हुँदैछ भनेर अगाडि नै कल्पना गरेको थिएँ । तर, जब आज म ड्रेसिङ रुममा पसें, तब मलाई अनुभूत भयो कि– तिमीसँग ड्रेसिङ रुम सेयर गर्न नपाएको दिन कति कठिन हुँदोरहेछ । मैदानभित्र र मैदानबाहिर पनि । हामी तिमीलाई सधैं सम्झिरहनेछौं । हाम्रो एकता र लामो समयका हरेक अविष्मरणीय क्षणहरू कहिल्यै बिर्सन सक्दैनौं । सँगै समय बिताउँदाका, सँगै खाँदाका यी क्षणहरूलाई हामी एकदमै मिस गर्नेछौं ।’

०००

‘तिमीलाई अरू कुनै जर्सीमा देख्दा पीडा हुन्छ । तिमीविरुद्ध खेल्नुपर्दा झन् पीडा हुन्छ । तिमी सम्मानजनक स्थितिबाट क्लबबाट बिदा हुन लायक छौं । किनभने, तिमी बार्सिलोनाको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण खेलाडी हौ । व्यक्तिगत रूपमा र क्लबका लागि तिमीले धेरै गरेका छौ र धेरै उपलब्धि दिलाएका छौ । तर, उनीहरूले तिमीलाई जसरी निकाले, तिमी त्यसको लायक होइनौं । तर, यो सत्य हो कि– यो कुराले मलाई कुनै अचम्ममा पारेको छैन ।’

०००

तिमीलाई नयाँ भविष्य र चुनौतीका लागि मेरो शुभकामना छ । म तिमीलाई धेरै माया गर्छु । चाँडै भेटौंला साथी !’

०००

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १०:५२
Loading...