सेभिल्लालाई हराउँदै बार्यनले जित्यो युइएफए सुपर कपको उपाधि

काठमाडौं, असोज ९
च्याम्पियन्स लिग फुटबलको गत सिजनको च्याम्पियन जर्मन क्लब बार्यन म्युनिख युइएफए सुपर कपको च्याम्पियन बनेको छ । गत राति भएको फाइनल खेलमा उसले स्पेनिस क्लब सेभिल्लाविरुद्ध पछि परेको स्थिति उल्टाएर २–१ को कठिन जित निकाल्यो । बार्यनले खेल जित्न १२० मिनेटसम्म खेल्नु परेको थियो ।

हंगेरीको बुडापेस्ट सहस्थित पुस्कास एरिना रंगशालामा दर्शकसहित भएको उपाधि भिडन्तमा बार्यनले ९० मिनेटपछि थपिएको ३० मिनेटको समयमा विजयी गोल गरेर उपाधि जित्यो । ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । सुपर कप गत सिजनको च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेता टिमले खेल्छन् ।

सेभिल्लाले खेलको १३औं मिनेटमा बार्यनविरुद्ध गोल गरेर अग्रता लिएको थियो । सेभिल्लाका लागि लुकास ओकाम्पसले पेनाल्टीमार्फत् गोल गरेका थिए । बक्समा बार्यनका खेलाडीले इभान राकिटिकलाई लडाएपछि रेफ्रीले सेभिल्लालाई पेनाल्टीको मौका दिएका थिए । जसमा ओकाम्पसले आँखा बन्द गरेर हानेको पेनाल्टी प्रहारले जाली चुमेको थियो ।

त्यसपछि बार्यनले खेलको ३४औं मिनेटमा बराबरी गोल हान्यो । सो गोल लियोन गोरेट्जाले बक्सभित्रबाट कडा प्रहार गोल गर्दै खेल बराबरी बनाए । सो गोलमा रोवर्ट लेवान्डोस्कीले असिस्ट गरेका थिए । सो खेलपछि दुवै टोलीले विजयी गोलका लागि कडा संघर्ष गरे पनि ९० मिनेटको खेल १–१ मै सकियो ।

त्यसपछि खेललाई ३० मिनेटको थप समयमा लगियो । थप समयमा बार्यनले सेभिल्लाको उत्कृष्ट डिफेन्स लाइन तोडेरै छाड्यो । खेलको १०४औं मिनेटमा बार्यनका लागि सब्सिच्युट खेलाडी जाभी मार्टिनेजले हेडिङमार्फत् सुन्दर गोल गरे । गोलकिपरबाट रिबाउन्ड भएर आएको बलमा उनले बक्स भित्रबाट कडा हेडिङ प्रहार गरेका थिए । सो गोलपछि सेभिल्ला खेलमा फर्किन सकेन । र, खेल बार्यनले २–१ ले जित्यो ।

यससँगै बार्यनले वर्ष २०२० मा चौथो उपाधि जितेको छ । उसले गत सिजन घरेलु बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितिसकेको छ । बार्यनले अब क्लब विश्वकप खेल्न बाँकी छ । सो उपाधि पनि जिते उसले एक क्यालेन्डर इयरमा खेलेका सबैखाले प्रतियोगिता जितेर कीर्तिमान बनाउनेछ ।

प्रकाशित मिति ९ आश्विन २०७७, शुक्रबार ०१:५९
Loading...