ज्लाटनलाई कोरोना भाइरस संक्रमण

एजेन्सी, असोज ८
इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई कोरोना भाइरसको संक्रमण भएको छ । क्लबले आज अफिसियल रूपमा ३९ वर्षीय स्वीडिस खेलाडी कोरोनाबाट संक्रमित भएको जनाएको छ । क्लबले अफिसियल वेबसाइटमार्फत् दिएको जानकारीअनुसार युरोपा लिग छनौटअन्तर्गत आज राति हुने खेलअघि गरिएको जाँचमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

ज्लाटनले २ दिनअघि सिरी ए लिगअन्तर्गत सिजनको पहिलो खेलमा बोलोग्नाविरुद्ध खेलेका थिए । सो खेलमा उनले २ गोल पनि गरेका थिए । त्यसपछिको अर्को खेलमा तयारीमा रहेका उनी कोरोनाबाट संक्रमित भएका हुन् ।

क्लबले संक्रमण देखिएपछि ज्लाटन घरमा आइसोलेसनमा बस्न थालेको जानकारी दिएको छ । गत जनवरी विन्डोमा मिलान पुगेका ज्लाटन अर्को साता ३९ वर्ष पुग्दैछन् । उनले थप एक सिजन मिलानमै रहन सम्झौता गरिसकेका छन् ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १५:१३
Loading...