गोलकिपर नाभासको सरुवाबारे जिदानले मुख खोले

एजेन्सी, भदौ ७
स्पेनिस रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना गोलकिपर केलर नाभासको सरुवा चर्चामा कुनै सत्यता नरहेको बताउँदै उनी आफूसँगै रहने बताएका छन् । शनिबार ला लिगामा लिगको दोस्रो खेल खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिदानले नाभासबिना आफूले टिमको कल्पना गर्न नसक्ने पनि बताए ।

पछिल्ला दुई दिन नाभासले खेल्न नपाएपछि क्लब छाड्न चाहेको र क्लबका अधिकारीसँग अनुरोधसमेत गरेको रिपोर्ट बाहिरिएको थियो । नाभासमाथि फ्रेन्च क्लब पिएसजीले चासो देखाइरहेको छ ।

तर, प्रशिक्षक जिदान भने नाभास रियलमै रहने बताउँछन् । ‘केलरबिना म टिमको कल्पना गर्न सक्दिनँ । म उनको बहिर्गमनको पक्षमा छँदै छैन,’ जिदानले भने, ‘उनी को हुन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।’

जिदानले नाभास आफ्नो टिमका लागि सधैं महत्त्वपूर्ण खेलाडी रहेको पनि बताए । ‘उनी सधैं मेरो टिमका लागि महत्त्वपूर्ण खेलाडी बन्दै आएका छन् । उनले मलाई क्लब छाड्नेबारे आजसम्म भनेका छैनन् । बाहिरका चर्चाबारे मलाई केही भन्नु छैन,’ जिदानले प्रष्ट पारे ।

जिदानले नाभास रियलमा खुसी रहेको र उनले अझै धेरै खेल्न चाहेको बताए । ‘उनी यहीं रहेर थप खेल्न चाहन्छन् । मलाई यो राम्रोसँग थाहा छ । मलाई विश्वास छ, यस सिजन उनले टिमलाई ठूला उपाधि जिताउन ठूलो योगदान दिन गइरहेका छन्,’ जिदानले थपे ।

यसअघिको कार्यकालमा जिदान रियलको प्रशिक्षक छँदा नाभास नै पहिलो रोजाइका गोलकिपर थिए । नाभासकै उच्च प्रदर्शनका आधारमा रियलले तीन सिजन लगातार च्याम्पियन्स लिग जितेको थियो ।

तर, गत सिजन बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवा रियलमा अनुबन्ध भएपछि नाभासको समय कटौती हुँदै आएको छ । अहिले जिदान नै प्रमुख प्रशिक्षक भए पनि नाभासलाई उनले पहिलो प्राथमिकतामा राखेका छैनन् ।

ज्यादै कम मात्रै खेल्न पाउने संकेत देखेपछि नाभास निराश बनेर रियल छाड्ने मनस्थितिमा पुगेको चर्चा अहिले छ ।

प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार ११:५८
Loading...