सेमेडोद्वारा बार्सालाई टाटा बाई–बाई : लेखे यस्तो बिदाइ सन्देश

एजेन्सी, असोज ७
स्पेनिस बार्सिलोना छाड्ने अन्तिम प्रक्रियामा रहेका डिफेन्डर नेल्सन सेमेडोले फ्यानहरूका नाममा बिदाइ सन्देश दिएका छन् । सन् २०१७ मा अनुबन्ध भएका पोर्चुगिज डिफेन्डरलाई बार्सिलोनाले इंग्लिस क्लब उल्भ्सलाई बेच्ने पक्का भइसकेको छ । अहिले दुई क्लबबीच सरुवा प्रक्रिया चलिरहेको छ । सेमेडो ४८ घन्टाभित्रमा मेडिकल जाँचका लागि उल्भ्स पुग्दैछन् ।

बार्सिलोनामा ३ वर्ष बिताएका युवा डिफेन्डरलाई नयाँ कोच रोनाल्ड कोम्यानले आफ्नो योजनामा नराख्ने भएपछि उनले क्लब छाड्ने निर्णय गरेका हुन् । सेमेडो पछिल्लो समय बार्सिलोनाको रक्षापंक्ति सम्हाल्ने सबैभन्दा भरपर्दा खेलाडी थिए । तर, कोम्यानले उनीमाथि विश्वास देखाएनन् । र, बेच्नका लागि क्लबलाई बाध्य बनाए । बार्सिलोनाले सेमेडोलाई ३५ मिलियन युरोमा स्थायी रूपमा बेच्ने निर्णय गरेको छ । बार्सिलोनाले उनलाई सन् २०१७ मा ४५ मिलियन युरोमा भित्र्याएको थियो ।

बार्सिलोना छाड्ने पक्का भएपछि सेमेडोेले क्लब बार्सिलोना र फ्यानहरूका नाममा धन्यवाद तथा बिदाइ सन्देश लेखेका छन् । सामाजिक सन्जाल इन्स्टाग्राममा एक सन्देश लेख्दै उनले बार्सिलोनाको खेलाडी बनेर खेल्न पाएकोमा खुसी व्यक्त गरेका छन् । यस्तो छ उनले लेखेको सन्देश–

यस क्लबको जर्सी लगाउने मेरो सपना पूरा गर्ने अवसर दिएकोमा म बार्सिलोनालाई धेरै धन्यवाद दिन चाहन्छु । मलाई एक राम्रो खेलाडी र एक व्यक्तिका रूपमा विकास गर्ने आधारमा दिएकोमा पनि धन्यावाद ।

मैले यहाँ तीन रमाइला सिजन बिताएँ । यो म कहिल्यै बिर्सनेछैन । म मेरा सहकर्मीहरूलाई पनि धन्यवाद दिन चाहन्छु । त्यसैगरी, मेरो स्टाफ, फ्यानदेखि म यहाँ आएको पहिलो दिनदेखि आजसम्म मलाई सहयोग गर्ने सबैप्रति म आभारी छु । म बार्सिलोनालाई सधैं सम्झिरहनेछु ।’

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०६:४२
Loading...