लिभरपुलले चेल्सीलाई उसकै घरमा हरायो : माने बने बने नायक

काठमाडौं, असोज ४
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बलियो प्रतिस्पर्धी चेल्सीलाई उसकै घरेलु मैदानमा हराएको छ । लिगको दोस्रो खेल खेल्न स्टामफोर्ड ब्रीज पुगेको जोर्गेन क्लोपको टिमले फ्रान्क लाम्पार्डको टिमलाई ०–२ ले स्तब्ध बनायो । अवे मैदानमा लिभरपुललाई महत्त्वपूर्ण जित दिलाउन साडियो माने नायक बने ।

घरेलु टोली चेल्सी पहिलो हाफको अन्तिम मिनेटमा १० खेलाडीमा झरेको थियो । चेल्सीका डिफेन्डर आन्द्रेस क्रिस्टिएनसेन सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । उनले बक्सबाहिर मानेलाई समातेर लडाएपछि रेफ्रीले भिएआरमार्फत् कन्फर्म गरेर रातो कार्ड दिए । सुरुमा पहेंलो कार्ड पाए पनि रेफ्रीले पछि रातो कार्ड दिए ।

१० खेलाडीसहित दोस्रो हाफ थालेको चेल्सीले ४ मिनेटको बीचमा २ गोल खायो । लिभरपुलका लागि खेलको ५०औं मिनेटमा मानेले हेडिङमार्फत् सुन्दर गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाए । सो गोलमा रोवर्ट फर्मिन्होले पास मिलाएका थिए । त्यसको ४ मिनेटमै मानेले नै व्यक्तिगत दोस्रो गोल गरे । चेल्सीका गोलकिपरले गल्ती गरेपछि त्यसको फाइदा उठाउँदै मानेले गोल गरेका थिए । चेल्सीका किपरले बक्सभित्र साथीलाई दिएको पास ब्लक गरेर मानेले सहजै गोल गरेपछि घरेलु टोलीको हातबाट खेल फुत्किएको थियो ।

खेलको ७५औं मिनेटमा चेल्सीले पेनाल्टी पाएको थियो । तर, जर्जिन्होको पेनाल्टी लिभरपुलका गोलकिपर एलिसन बेकरले रोकेपछि चेल्सीको खेलमा फर्किने प्रयास खेर गएको थियो । जर्जिन्होले यसअघिका १६ पेनाल्टीमा लगातार गोल गरेका थिए । तर, १७औं पेनाल्टीमा उनी चुके ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल लिभरपुलले ०–२ ले जित्यो । अब यो जितपछि लिभरपुलले २ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित चेल्सी ३ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १७:१४
Loading...