पहिलो हाफमा युभेन्टसलाई १–० को अग्रता

काठमाडौं, असोज ५
नयाँ सिजन २०२०–२१ अन्तर्गत इटालियन क्लब युभेन्टस अहिले सिरी ए लिग फुटबलमा सिजनको पहिलो खेल साम्पडोरियासँग खेल्दैछ । नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोको कमान्डमा नयाँ सिजनको पहिलो खेल आफ्नो घरेलु मैदानमा खेलिरहेको युभेन्टसले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

युभेन्टसका लागि नयाँ खेलाडी डेजान कुलुसेभ्सकीले सिजनको पहिलो गोल गरेका हुन् । उनले युभेन्टसका लागि नयाँ सिजनको पहिलो गोल मात्रै गरेनन्, नयाँ क्लबमा डेब्यु खेलमै गोलको खाता खोल्न पनि सफल भए । खेलको १३औं मिनेटमा उनले बक्स भित्रबाट विक फुटले सुन्दर गोल गरेका थिए । उनको गोलमा क्रिस्टियानो रोनाल्डोले असिस्ट गरेका थिए ।

त्यसपछि रोनाल्डो २ गोलका अवसरमा चुके । २४औं मिनेटमा उनको कडा प्रहार बारमा लागेर फर्किंदा उनी निराश बनेका थिए । त्यसपछि ३४औं मिनेटमा आरोन राम्सेको पासमा बक्समा रोनाल्डोले अवसर पाए पनि उनको प्रहार पोस्टभन्दा केही बाहिरबाट जाँदा रोनाल्डो दोस्रो अवसरमा पनि चुके । उनले लो क्रस पासमा आएको बललाई वान टचमै फिनिसिङ गर्न खोजेका थिए । तर, बल पोस्टभन्दा थोरै बाहिरबाट गयो ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १६:२६
Loading...