युवा खेलाडीमाथि कोम्यानलाई छैन विश्वास : सेमेडो पनि बेच्दै

एजेन्सी, असोज ४
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना युवा डिफेन्डर नेल्सन सेमेडोलाई बेच्ने तयारी गरेको छ । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पोर्चुगलका युवा डिफेन्डरलाई आफ्नो योजनामा प्राथमिकतामा नराख्ने भएपछि क्लबले सेमेडो बेच्ने तयारी गरेको छ । स्पेनिस मिडियाले ताजा रिपोर्टमा सेमेडो भित्र्याउन इंग्लिस क्लब उल्भ्स अहिले बार्सिलोनासँग औपचारिक छफलमा जुटेको बताएका छन् ।

२६ वर्षका राइट ब्याक सेमेडो अघिल्ला प्रशिक्षकरू अर्नेस्टो भाल्भर्डे र क्विके सेटिनको पालामा प्रमुख रोजाइमा पर्थे । तर, हालै नयाँ प्रशिक्षक बनेर आएका डच म्यानेजरले पोर्चुगलका युपा खेलाडीलाई प्रमुख योजनामा नराख्ने भएपछि बार्सिलोनाले उनलाई बेचेर पैसा आम्दानी गर्न चाहन्छ ।

रिपोर्टरूअनुसार चित्तबुझ्दो रकममा बार्सिलोनाले सेमेडोलाई जुनसुकै क्लबमा पनि बेच्न सक्छ । यदि राम्रो अफर नआए लोनमै भए पनि बाहिर पठाउने तयारी गरेको छ । अघिल्लो दिन मात्रै कोम्यानले युवा मिडफिल्डर रिकी पुच आफ्नो प्रमुख योजनामा नरहने भन्दै उनलाई धेरै खेल्ने भए लोनमा बाहिर जान भनिसकेका छन् ।

कोम्यानले अफिसियल रूपमा बार्सिलोनामा जागिर सुरु नगर्दै उनका केही निर्णयबाट समर्थकहरू बिच्किएका छन् । टोलीमा रुचाइएका र क्षमतावान् युवा खेलाडीलाई ठाउँ नदिने निर्णय लिएपछि कोम्यानको चर्को आलोचना सुरु भइसकेको छ । कोम्यानका लागि बार्सिलोनाको जागिर सुरुआतबाटै तनावपूर्ण र दबाबपूर्ण हुने देखिएको छ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १५:०१
Loading...