लिग वानमा पिएसजीले निकाल्यो पहिलो जित

काठमाडौं, असोज ४
गत सिजनको च्याम्पियन पिएसजीले फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन २०२०–२१ मा पहिलो जित दर्ता गरेको छ । सुरुआती दुई खेलमा हारेर खराब सुरुआत गरेको पिएसजीले तेस्रो खेलमा बल्ल जितको नतिजा निकाल्न सफल भयो । आज भएको खेलमा पिएसजीले ओजिसी नाइसलाई उसकै घरमा ०–३ गोलअन्तरले स्तब्ध बनायो ।

आइतबार भएको खेलमा पिएसजीका लागि ३ जना फरक–फरक खेलाडीले गोल गरे । प्रमुख फरवार्ड नेइमार प्रतिबन्धका कारण उपलब्ध नभएको खेलमा पिएजीलाई नयाँ सिजनको पहिलो जित दिलाउन केलियन एमबाप्पे, एन्जल डि मारिया र कप्तान माक्र्विनहोसले १–१ गोल गरे ।

पिएसजीले खेलको ३८औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बल लिएर अघि बढेका बेला नाइसका खेलाडीले बलसँग सम्पर्क नगरी एमबाप्पेमाथि फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टीको मौका दिए, जसमा एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा डि मारियाले बक्स भित्रबाट चलाखीपूर्वक गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा पिएसजीले १ गोल थप्यो । खेलको ६६औं मिनेटमा कप्तान माक्र्विनहोसले डि मारियाको पासमा गोल गरेर टिमलाई ०–३ को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल पिएसजीले सहज गोलअन्तरमा जित्यो ।

अब यो जितपछि पिएसजीले लिगका तीन खेल खेलिसक्दा सुरुका दुई खेल हारेर तेस्रो खेलमा जित निकालेको छ । ऊ ३ अंकसहित आठौं स्थानमा छ । पराजित नाइस ६ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १३:१४
Loading...