प्रिमियर लिगमा टोटनह्यामको शानदार जित : सन एक्लैले ठोके ४ गोल !

काठमाडौं, असोज ४
दक्षिण कोरियन स्टार फरवार्ड सन हेङ मिन एक्लैले ४ गोलको वर्षा गरेको र ह्यारी केन एक्लैले सनका ४ गोलमा असिस्ट गरेको खेलमा टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार कमब्याक जित निकालेको छ । आज भएको सिजनको दोस्रो खेलमा सन र केनले हिरोगिरी देखाउँदा टिमले साउथह्यामपटनविरुद्ध २–५ को उत्कृष्ट कमब्याक जित किालेको हो ।

अवे मैदानमा भएको खेलमा टोटनह्याम सुरुमा गोल खाएर पछि परेको थियो । तर, दोस्रो हाफमा उसले शानदार खेल खेल्दै फराकिलो जित निकाल्यो । सोक्रममा सन एक्लैले ४ गोल ठोके भने केनले सनका ४ वटै गोलमा असिस्ट गर्दै आफूले पनि १ गोल हाने । यसअघि सिजनको पहिलो खेल एभर्टनसँग आफ्नै घरमा ०–१ ले हारेर चर्को दबाबमा रहेको टोटनह्यामले दोस्रो खेलबाट लिगमा उत्कृष्ट कमब्याक पनि गरेको छ ।

घरेलु टोली साउथह्यामपटनले खेलको ३२औं मिनेटमा गोल गरेर टोटनह्यामलाई झट्का दिएको थियो । सो गोल डनी इङ्सले गरेका थिए । तर, पहिलो हाफको अन्तिम समयमा टोटनह्यामका लागि सनले केनको पासमा उत्कृष्ट गोल गरेर खेल १–१ बनाए । त्यसपछि दोस्रो हाफमा टोटनह्याम एकाएक हाबी भयो ।

दोस्रो हाफ सुरु हुनासाथ सनले नै गोल गरे । उनको गोलमा पनि केनले नै असिस्ट प्रदान गरेका थिए । त्यसपछि खेलको ६४औं मिनेटमा सनले केनकै पासमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । सन त्यत्तिमै रोकिएनन् । खेलको ७३औं मिनेटमा उनले टिमका लागि चौथो र व्यक्तिगत पनि चौथो गोल गरे । उनको चौथो गोलमा पनि केनले नै असिस्ट गरे ।

सनले गरेका ४ वटै गोलमा केन एक्लैले असिस्ट प्रदान गरेका थिए । त्यसपछि खेलको ८२औं मिनेटमा केनले आफ्नो नाममा १ गोल गरे । उनले गरेको १ गोलसँगै उनले एकै खेलमा सोझै ५ गोलमा सहभागिता जनाए । त्यसपछि ९०औं मिनेटमा साउथह्यामपटनका लागि डनीले नै व्यक्तिगत दोस्रो गोल पेनाल्टीबाट गरे पनि खेल टोटनह्यामले २–५ ले जित्यो ।

अब यो जितपछि टोटनह्याम २ खेलबाट ३ अंक जोडेर ३ अंकसहित लिगको पाँचौं स्थानमा छ । पराजित साउथह्यामपटन अंकविहीन हुँदै सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १२:४९
Loading...