लेवान्डोस्कीले गरे कोउटिन्होको तारिफ, भने– ‘अब हामी निकै बलियो भयौं’

एजेन्सी, भदौ ७
जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले आफ्ना नयाँ सहकर्मी फिलिपे कोउटिन्होको तारिफ गरेका छन् । हालै स्पेनिस बार्सिलोनाबाट लोनमा बार्यन पुगेका कोउटिन्होसँग खेल्न पाउनु खुसीको कुरा भएको लेवान्डोस्कीले बताए ।

हाल बार्यनको प्रशिक्षणमा रहेका कोउटिन्होले यसै साता बुन्डेसलिगामा डेब्यु गर्दैछन् । उनको डेब्युलाई निकै महत्त्वसाथ हेरिएको छ । उनले शनिबार शाल्केसँगको खेलबाट बार्यनको जर्सीमा डेब्यु गर्दैछन् ।

इंग्लिस क्लब लिभरपुलका पूर्व तथा ब्राजिलका स्टार खेलाडी बार्यन पुगेपछि लेवान्डोस्कीले कोउटिन्होको उपस्थितिले आफूहरू थप बलियो भएको बताए । ‘कोउटिन्होजस्ता खेलाडी सहकर्मी पाउँदा हामी निकै बलियो भएका छौं,’ लेवान्डोस्कीले भनेका छन्, ‘कोउटिन्हो खेललाई जुनसुकै बेला परिवर्तन गर्न सक्ने खेलाडी हुन् । उनी यहाँ सफल हुनेमा म विश्वस्त छु ।’

बार्यनले २७ वर्षीय कोउटिन्होलाई एक सिजनका लागि लोनमा भित्र्याएको हो । बार्सिलोनामा असफल भनिएका कोउटिन्हो बार्यनमा स्थापित हुने अपेक्षा गरिएको छ । गत सिजन बार्सिलोनामा उनले कूल ५४ खेल खेल्दै ११ गोल गरेर ५ गोलका लागि असिस्ट गरेका थिए ।

प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार ०४:०७
Loading...