‘महानायक’ हमालद्वारा कोरोना प्रभावित ११३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग

काठमाडौं, असोज ३
महानायक राजेश हमालले कोरोना भाइरसका कारण प्रभावित बनेका चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । नेपाल चलचित्र प्राविधिक संघको अगुवाईमा महानायक हमालले आफ्नै क्षेत्रका कामविहीन अवस्थामा समस्यामा परेका प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका हुन् ।

आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर महानायक हमालले ११३ जना चलचित्र प्राविधिकहरूलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका हुन् । हमालले सहयोेगको धेरै हिस्सा आफ्ना तर्फबाट र केही देशबाहिर रहेका आफ्ना साथीभाइबाट थप भएको रकमसहित गरी कूल ५ लाख ६५ हजार रुपैयाँ नगद राहतस्वरूप प्रदान गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै महानायक हमालले प्राविधिकहरूका लागि आफ्नो दिलमा सधैं उच्च सम्मान रहेको बताउँदै अप्ठेरो घडीमा सहयोग गरेको बताए । सोक्रममा उनले समस्या बढे वा कायमै रहे आफूले अझै ठूलो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै हमालले देशबाहिर रहेका आफ्ना केही साथीभाइले पनि केही रकम पठाएर सहयोग गरेको उनीहरूलाई पनि धन्यवाद दिए ।

प्रकाशित मिति ३ आश्विन २०७७, शनिबार १६:०३
Loading...