रियल मड्रिडको १०० मिलियन र तीन खेलाडीको ‘बम्पर अफर’ पिएसजीद्वारा अस्वीकार !

एजेन्सी, भदौ ५
फ्रेन्च क्लब पिएसजीले आफ्ना ब्राजिलियन स्टार खेलाडी नेइमार बेच्न स्पेनिस रियल मड्रिडको आकर्षक प्रस्ताव अस्वीकार गरेको छ । स्पेनिस र फ्रेन्च मिडियाले यो खबर प्रमुखतासाथ छापेका छन् ।

खबरअनुसार रियलले बार्सिलोनाका पूर्वस्टार खेलाडी नेइमारका लागि आफ्ना ३ जना स्टार खेलाडीसहित १०० मिलियन पाउन्ड प्रस्ताव गरेको थियो । तर, पिएसजी सो प्रस्तावमा पनि हल्लिएन ।

मिडिया रिपोर्टअनुसार रियलले २७ वर्षीय स्टार नेइमार भित्र्याउन आफ्ना स्टार खेलाडीत्रय ग्यारेथ बेल, गोलकिपर केलर नाभास र कोलम्बियन स्टार हामेस रोड्रिग्वेजसहित १०० मिलियन पाउन्डको अफर गरेको थियो । तर, सो प्रस्ताव पनि पिएसजीले अस्वीकार गरेको हो ।

जारी सरुवा बजार सकिन लाग्दा पिएसजी नेइमारको विषयमा झन् महत्त्वकांक्षी बन्दै गएपछि नेइमारले नयाँ सिजनमा नयाँ क्लबबाट खेल्ने सम्भावना कमजोर बन्दै गएको छ ।

यसअघि पिएसजीले बार्सिलोनाको पटक–पटकका प्रस्ताव पनि अस्वीकार गरेको थियो । तर, रियलले बार्सिलोनाको भन्दा निकै ठूलो प्रस्ताव गर्दा पनि पिएसजी नेइमार बेच्न तयार नदेखिएको हो ।

प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १४:०३
Loading...