डिल फाइनल : बार्यनका थियागो लिभरपुलमा अनुबन्ध

एजेन्सी, असोज १
इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बार्यन म्युनिखबाट स्टार मिडफिल्डर थियागो अलकान्टारालाई अनुबन्ध गरेको छ । हालसम्म दुवै क्लबले यसबारे औपचारिक घोषणा गरेका छैनन् । तर, आगामी केही घन्टामै यो घोषणा हुनेवाला छ । जर्मन र इंग्लिस मिडियाले ताजा रिपोर्टमा यसबारे खबर छापेका छन् ।

२९ वर्षका स्पेनिस खेलाडीका लागि लिभरपुलले २० मिलियन पाउन्ड सरुवा फी तिरेर भित्र्याएको हो । दुवै क्लब र खेलाडीबीच विभिन्न सर्त तथा खेलाडीले पाउने सेवासुविधामा समेत सहमति बनिसकेको छ । थियागोलाई भित्र्याउन लिभरपुलसँगै अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमेत दौडमा थियो ।

थियागोले बार्यनमा कूल ७ सिजन बिताए । उनी सिजन २०१३–१४ मा बार्सिलोना छाडेर बार्यन पुगेका थिए । ७ सिजन बिताउनेक्रममा उनले २३५ खेल खेल्दै कूल ३१ गोल गरे । बार्यनबाट उनले सात बुन्डेसलिगा, चार जर्मन कप, तीन सुपर कप, एक फिफा क्लब विश्वकप र एक च्याम्पियन्स लिग गरी कूल विभिन्न १६ उपाधि जितेका छन् ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार १०:५७
Loading...