आखिर किन नेइमार फर्काउन चाहन्छन् मेस्सी ?

एजेन्सी, भदौ ५
स्पेनिस बार्सिलोना अझै पनि आफ्ना पूर्वस्टार खेलाडी नेइमार फर्काउने दौडमै छ । सरुवा बजार सकिन लाग्दा बार्सिलोना कुनै पनि सर्तमा फ्रेन्च क्लब पिएसजीबाट २७ वर्षीय नेइमारलाई फर्काएर क्याम्प नोउ उतार्न चाहन्छ ।

बार्सिलोनामा अहिले आक्रमण लाइनमा कप्तान लिओनल मेस्सीसहित लुइस स्वारेज, विंगर उसामान डेम्बेले, एन्टोनी ग्रीजम्यान छन् । आक्रमण लाइनमा स्टार खेलाडीहरूको राम्रो सेट भए पनि बार्सिलोना अझै पनि विश्वकै महँगा खेलाडी नेइमार फर्काउन चाहन्छ । किन ?

यसबारे बार्सिलोनाकै पूर्वखेलाडी रिभाल्डोले बताएका छन् । उनले गोलकर्ता खेलाडी प्रशस्तै भई–भई पनि बार्सिलोना किन नेइमार फर्काउन लागिपरेको छ भन्ने विषयमा धारणा राखेका छन् ।

हालै एक अन्तर्वार्तामा बोल्दै उनले बार्सिलोना अहिले क्लबको आवश्यकताभन्दा बढी आफ्ना कप्तान मेस्सीका लागि नेइमार फर्काउन लागेको बताएका छन् । मेस्सीलाई व्यक्तिगत रूपमा ठूला सफलता दिलाउन क्लबले निर्णायक खेलाडी भित्र्याउन लागेको रिभाल्डो बताउँछन् ।

‘बार्सिलोनासँग अहिले थुप्रै फरवार्ड छन् । ग्रीजम्यानको अनुबन्धपछि उनीहरू युरोपमै सबैभन्दा राम्रा खेलाडीको फरवार्ड सेट भएको टिम बनेका छन्,’ रिभाल्डोले भने, ‘तर, फेरि पनि उनीहरू नेइमार फर्काउन लागेका छन् । यसको पछि नदेखिने स्वार्थ छ ।’

रिभाल्डोले अघि थपे, ‘यो भनेको नेइमारले मेस्सीको सफलतामा सघाउँछन् भन्ने हो । च्याम्पियन्स लिग जित्न र मेस्सीलाई व्यक्तिगत ठूला अवार्ड जिताउन नेइमार महत्त्वपूर्ण हुने बार्सिलोनाले बुझेको छ ।’

रिभाल्डोले मेस्सी र नेइमारको सम्बन्धबारे पनि बोले । ‘मेस्सीलाई लाग्छ, नेइमार फर्किए पुनः ठूला उपाधि जित्न सकिन्छ । उनी नेइमारसँग केही वर्ष काम गरेर ठूला उपाधि जितेपछि क्लबमा आफ्नो उत्तराधिकारी नेइमार बनून् भन्ने चाहन्छन् । किनभने, मेस्सी र नेइमारबीच निकै राम्रो सम्बन्ध छ ।’

प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ०५:०८
Loading...