बार्सिलोनाको सहज जितमा मेस्सीको २ गोल

काठमाडौं, असोज १
कप्तान लिओनल मेस्सीले २ सुन्दर गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन मैत्रीपूर्णअन्तर्गत दोस्रो खेलमा सहज जित निकालेको छ । बुधबार राति बार्सिलोनाको टिम ‘बी’को घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको टिम जिरोनालाई ३–१ ले हरायो ।

बार्सिलोनाले पकड जमाएको खेलमा फिलिपे कोउटिन्होले पहिलो गोल गरे । उनले खेलको २१औं मिनेटमा नयाँ युवा खेलाडी फ्रानसिस्को ट्रिनकाओको असिस्टमा बक्स भित्रबाट सहजै गोल गरेका थिए । त्यसपछि पहिलो हाफको अन्तिम समयमा कप्तान मेस्सीले फिलिपे कोउटिन्होको पासमा सुन्दर गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि रह्यो ।

दोस्रो हाफ सुरु हुनासाथ पाहुना टोली जिरोनाले गोल गरेर खेलमा फर्किने संकेत देखाएको थियो । ४६औं मिनेटमा सामुएल साइजले गोल गरेर खेल २–१ बनाएका थिए । तर, गोल खाएको ५ मिनेटमै कप्तान मेस्सीले सर्जी रोवेर्टोमो पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा बार्सिलोनाले ३–१ को अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले ३–१ ले जित्यो ।

खेलको ६३औं मिनेटमा बार्सिलोनाले सुरुआतको सिंगै टोली परिवर्तन गरेर नयाँ टोली उतारेको थियो । युवा खेलाडीको दोस्रो सेटले बाँकी समयमा थुप्रैपटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १८:४३
Loading...