रियल मड्रिडका युवा डिफेन्डर टोटनह्याम जाँदै

एजेन्सी, असोज १
स्पेनिस क्लब रियल मड्रिडका युवा डिफेन्डर सर्जियो रेगुइलियोन इंग्लिस क्लब टोटनह्याम जाने सम्भावना बढेको छ । प्रशिक्षक जोसे मोउरिन्होले रियलबाट लोनमा सेभिल्ला गएर उच्च प्रदर्शन गरेका २३ वर्षका लेफ्ट ब्याक भित्र्याउन सक्रियता बढाएका छन् । उनी अहिले सेभिल्लाबाट रियल फर्किसकेका छन् ।

रियलमा जिनेदिन जिदानको योजनामा पहिलो रोजाइमा स्थान नपाउने भएपछि स्पेनिस खेलाडीले रियल छाड्न तयार देखिएका छन् । राम्रोे अफरमा उनले टोटनह्यामको प्रस्ताव स्वीकार्ने प्रबल सभावना छ । यसअघि जिदानले टोलीमा स्थान नदिएपछि नै रेगुइलियोन लोनमा सेभिल्ला पुगेका थिए ।

रियलबाट २३ वर्षका भरपर्दा युवा खेलाडी भित्र्याउन टोटनह्यामले ४० मिलियन युरोसम्म सरुवा फी तिर्नुपर्ने हुनसक्छ । किनभने, रियलले आफ्नो एकेडेमीका प्रतिभावान् युवा खेलाडीलाई कम मूल्यमा बेच्नेछैन । पछिल्लो समय रियलबाट रेगुइलियोनसँग वेल्स फरवार्ड ग्यारेथ बेल पनि टोटनह्याम सरुवा हुने चर्चामा छन् ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १६:२५
Loading...