रोनाल्डोपछि मेस्सी बने दोस्रो अर्बपति फुटबलर

काठमाडौं, भदौ ३१
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सी दोस्रो अर्बपति फुटबलर बनेका छन् । ३३ वर्षका मेस्सी फुटबलको दुनियाँमा अब करिअरमा अर्बभन्दा बढी कमाउने दोस्रो खेलाडी बनेका हुन् । यसअघि इटालियन युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो गत वर्ष २०१९ मै पहिलो अर्बपति फुटबलर बनेका थिए ।

रोनाल्डोपछि उनका खास प्रतिस्पर्धी मेस्सी अर्बपति फुटबलरको सूचीमा दर्ज भएका हुन् । अब फुटबल विधाबाट करिअर दौरान अर्बभन्दा बढी कमाउने रोनाल्डो र मेस्सी मात्रै बनेका छन् । रोनाल्डो र मेस्सीअघि कोही पनि फुटबलर अर्बपति बनेका थिएनन् ।

अमेरिकाको चर्चित पत्रिका ‘फार्ब्स’ ले हालै जारी गरेको नयाँ रिपोर्टअनुसार मेस्सी २०२० मा सर्वाधिक कमाउने खेलाडी बने । यस वर्षको कमाइसहित मेस्सीको करिअरको कूल कमाइ १ अब अमेरिकी डलर नाघेको हो । २०२० मा मेस्सीले रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बन्दा उनको कूल कमाइले अर्बको सीमा नाघेको हो ।

यस वर्ष मेस्सीले कूल १२६ मिलियन अमेरिकन डलर कमाइ गर्दा दोस्रो स्थानमा रहेका रोनाल्डोले जम्मा ११७ मिलियन अमेरिकन डलर कमाइ गरे । तेस्रो स्थानमा रहेका पिएसजीका ब्राजिलियन फरवार्ड नेइमार ९६ मिलियन अमेरिकन डलरसहित तेस्रो स्थानमा रहे । यो खेलाडीले तलबबापत र अन्य व्यावसायिक कमाइबाट आर्जन गरेको कूल कमाइ हो ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार १०:५६
Loading...