एलियनसँग ड्रेसिङ रूम सेयर गर्न पाउनु अद्भुत : पियानिच

एजेन्सी, भदौ ३१
स्पेनिस बार्सिलोनाका नयाँ खेलाडी मिरालेम पियानिचले आफ्ना नयाँ कप्तान लिओनल मेस्सीलाई ‘एलियन’ भन्दै उच्च प्रशंसा गरेका छन् । अघिलो दिन मंगलबार क्लबले बोस्निया एन्ड हर्जगोभिनाका प्ले मेकरलाई औपचारिक रूपमा क्याम्प नोउमा सार्वजनिक गरेपछि मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

इटालियन युभेन्टसबाट ६५ मिलियन युरोमा बार्सिलोना आएका पियाचिनले बार्सिलोनाबाट खेल्न पाउनु सम्मानको कुरा रहेको बताउँदै मेस्सीलाई एलियनको उपमा दिए । ‘बार्सिलोनामा खेल्न पाउनु मेरा लागि सम्मान हो, म यहाँ जित्न र टिमलाई सघाउन आइपुगेको छु,’ पियानिचले भने ।

मेस्सीसँग एकै जर्सीमा खेल्न लागेको विषयमा पियानिचले भने, ‘मेस्सीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउनु मेरा लागि अद्भुत हुनेछ । किनभने, उनी एक उतकृष्ट खेलाडी हुन् ।’

पियानिचले युभेन्टसमा आफूले क्रिस्टियानो रोनाल्डोजस्ता च्याम्पियन र उत्कृष्ट खेलाडीसँग खेलेको सम्झिँदै मेस्सीसँग पनि खेल्न पाउनु धेरै राम्रो रहेको बताए । ‘युभेन्टसमा मैले क्रिस्टियानोसँग खेलें, यहाँ मेस्सीसँग खेल्न गइरहेको छु । उनीहरू दुवै एकै स्तरका र उत्कृष्ट छन्, दुवैजनाको सहकर्मी हुन पाउनु मेरो लागि उपहारजस्तो हो,’ पियानिचले भने ।

 

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०६:५२
Loading...