बार्सिलोनाको उल्टो यात्रा : डिपे भित्र्याउन सेमेडो बेच्ने तयारी !

एजेन्सी, भदौ ३१
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना युवा डिफेन्डर नेल्सन सेमेडो बेच्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ । २६ वर्षीय राइट ब्याकलाई बार्सिलोना नयाँ खेलाडी भित्र्याउने योजना पूरा गर्नका लागि बेच्न प्राथमिकतामा राखेको हो । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनाअनुसार नेदरल्यान्ड्स तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपे भित्र्याउन पैसा जोहो गर्न क्लब सेमेडो बेच्न तयार देखिएको हो ।

आज बुधबार बार्सिलोनाले जिरोनासँग दोस्रो प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्नुअघि पत्रकारसँग कुरा गर्दै प्रशिक्षक कोम्यानले पनि डिपे नयाँ सिजनअघि नै बार्सिलोना आइपुग्ने बताए । तर, त्यसका लागि पहिला केही खेलाडी बेच्नुपर्ने उनले बताए । ‘डिपेलाई अनुबन्ध गर्नुअघि हामीले पहिला केही खेलाडी बेच्नुपर्छ । क्लबले यसको तयारी गरिरहेको छ,’ कोम्यानले भने, ‘डिपेलाई मैले हाम्रो टोलीमा चाहेको छु, यो साँचो हो ।’

स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले बेच्न सक्ने खेलाडीमा डिफेन्डर सेमेडो पहिलो योजनामा छन् । यो प्रशिक्षक कोम्यानकै योजनाअनुसार भएको रिपोर्टमा दाबी गरिएको छ । टोलीका भरपर्दा युवा डिफेन्डरलाई राम्रो मूल्यमा बेचेर बार्सिलोना आर्थिक जोहोसमेत गर्न चाहन्छ । तर, बार्सिलोनाको रक्षापंक्तिमा युवा खेलाडी नहुँदा समस्या बढिरहेका बेला सेमेडोजस्ता प्रतिभावान् युवा डिफेन्डर पनि बेचे बार्सिलोनाको नयाँ सिजनमा रक्षापंक्तिमा झन् ठूलो समस्या निम्तिने पक्का छ ।

यदि समेडो बेचेको खण्डमा बार्सिलोनाको रक्षापंक्तिमा पहिलो रोजाइमा जेरार्ड पिके, जोर्डी अल्बा, जुनियर फिर्पो, सर्जी रोवेर्टो हुनेछन् । विकल्पमा सामुएल उम्टिटी, युवा खेलाडी तोडिबोलगायत हुनेछन् । तर, बार्सिलोनाले सकेसम्म यसै समरमा फ्रेन्च डिफेन्डर उम्टिटीलाई पनि बेच्न चाहन्छ ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०६:५०
Loading...