मेस्सी पूर्ण प्रशिक्षणमा फर्किए : बेटिसविरुद्ध खेल्ने पक्का

एजेन्सी, भदौ ५
चोटसँग जुधिरहेका स्पेनिस बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सी पूर्ण प्रशिक्षणमा फर्किएका छन् । तीन साताअघि चोटग्रस्त बनेका उनी अघिल्लो दिनबाट समूहसँगै प्रशिक्षणमा फर्किएका हुन् ।

त्यसअघि सातादिनसम्म मेस्सीले रिकभरी अभ्यासमा एक्लै प्रशिक्षण गर्दै आएका थिए । तर, बुधबारबाट उनले टिमसँगै प्रशिक्षण गर्न थालेका हुन् ।

यससँगै कप्तान मेस्सीले ला लिगाको दोस्रो खेल खेल्ने पक्का भएको छ । यसअघि उनले अवे मैदानमा भएको एथ्लेटिक बिल्बाओसँगको पहिलो खेल गुमाएका थिए, जुन बार्सिलोनाले १–० ले हारेको थियो ।

मेस्सीपछि लुइस स्वारेज र उसामान डेम्बेले पनि घाइते भएका थिए । जसका कारण प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई आगामी खेलहरूमा आक्रमण पंक्ति कसरी बनाउने भन्ने तनाव थपिएको थियो ।

तर, मेस्सी फिट भएर प्रशिक्षणमा फर्किएसँगै भाल्भर्डेलाई ठूलो राहत मिलेको छ । टोलीका निर्णायक र गोल मेसिन खेलाडीको आगमनले उनको तनाव कम भएको छ । बार्सिलोनाले सोमबार राति आफ्नो घर क्याम्प नोउमा ला लिगाको दोस्रो खेल रियल बेटिससँग खेल्दैछ ।

प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ०१:३७
Loading...