‘रोनाल्डो सर्वोत्कृष्ट खेलाडी, असल मानिस’

एजेन्सी, भदौ ३१
इटालियन क्लब युभेन्टसका नयाँ युवा खेलाडी वेस्ट म्याकेनीले आफ्ना नयाँ सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । यसै समर विन्डोमा जर्मन क्लब शाल्केबाट लोनमा युभेन्टस पुगेका अमेरिकन युवा खेलाडीले रोनाल्डोलाई आधुनिक फुटबलका सर्वोत्कृष्ट खेलाडी र एक असल मानिस भनेका छन् ।

युभेन्टसको जर्सीमा रोनाल्डोसँगै एक मैत्रीपूर्ण खेल खेलिसकेका २२ वर्षीय फरवार्डले रोनाल्डोबारे निकै सुन्दर भनाइ राखेका छन् । ‘क्रिस्टियानोजस्ता सर्वोत्कृष्ट खेलाडीसँग खेल्नु हरेक खेलाडीको सपना हुन्छ, मेरो पनि थियो । त्यो पूरा भयो । म एकदमै खुसी छु । म उनीसँग धेरैभन्दा धेरै सँगै खेल्न र गोलका खुसीयाली सेयर गर्न चाहन्छु,’ म्याकेनीले एक अन्तर्वार्तामा भनेका छन् ।

म्याकेनीले रोनाल्डो सर्वोत्कृष्ट खेलाडीका साथै एक असल मानिस भएको पनि बताए । ‘क्रिस्टियानो आधुनिक फुटबलका सर्वश्रेष्ठ खेलाडी हुन् । यसका साथै उनी एक असल मानिस पनि हुन् । उनले नयाँ खेलाडीलाई निकै राम्रो व्यवहार गर्छन् । उनीसँग कसरी नजिक हुने, कसरी कुरा गर्ने भनेर मलाई ठूलो डर थियो । तर, उनले मलाई निकै सहज बनाए । ड्रेसिङ रुम र प्रशिक्षणमा उनले युवा खेलाडीसँग झन् मित्रवत् व्यवहार गर्छन् । म उनीसँग निकै चाँडो नजिक भएँ । म अहिले उनीसँग सँगै प्रशिक्षण गर्दा निकै रमाइलो र उत्साह अनुभूत गर्छु ।’

म्याकेनीले रोनाल्डोसँग आफू गोल र जितमा साझेदारी गर्न आतुर रहेको बताए । ‘रोनाल्डोसँग गोल र असिस्टमा साझेदारी गर्न म बहुत आतुर छु । म उनीसँग खेल्दा आफ्नो बेस्ट दिन र टिमलाई योगदान दिन चाहन्छु,’ म्याकेनीले थपे ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०३:५५
Loading...