नेइमारमाथि सात खेलसम्मको प्रतिबन्ध हुन सक्ने

एजेन्सी, भदौ ३०
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारमाथि ७ खेलसम्मको प्रतिबन्ध लाग्ने भएको छ । त्यसैगरी, मार्सेइल्लीका डिफेन्डर अल्भारो गोन्जालोजमाथि १० खेलसम्मको प्रतिबन्धको कारबाही हुन सक्नेछ । अघिल्लो दिन लिग वान फुटबलमा पिएसजी र मार्सेइल्ली भिड्दा दुई पक्षका खेलाडीबीच झडप भएको थियो । त्यसपछि पनि यी दुई खेलाडी सार्वजनिक रूपमा भनाभनमा उत्रिएपछि फ्रेन्च फुटबल संघले उनीहरू दुवैजना माथि अधिकतम् कारबाहीको निर्णय गर्ने सम्भावना छ ।

पिएसजीको घरमा भएको सो खेलमा पिएसजीका ३ र मार्सेइल्लीका २ गरी ५ जना खेलाडीले रातो कार्ड पाएका थिए । सो खेलमा ५ रातो र १२ पहेंलोसहित १७ कार्ड झरेका थिए । जसमा रातो कार्ड पाउने एक नेइमार पनि थिए । नेइमारले विपक्षी खेलाडी गोन्जालेजमाथि पछाडिबाट टाउकोमा हिर्काएको आरोपमा भिएआरबाट रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । पिएसजीले सो खेल ०–१ ले हारेको थियो ।

नेइमारले गोन्जालेजलाई कुटेको भिएआरमार्फत् पुष्टि गरेर रेफ्रीले रातो कार्ड देखाएपछि नेइमारले खेलपछि आफूमाथि गोन्जालेजले नश्लीय गालीलौज गरेको बताउँदै त्यसको प्रतिउत्तरमा आफूले हात उठाएको बताएका थिए । नेइमारले सो कुरा सामाजिक सन्जाल ट्वीटरमा पनि लेखेका थिए ।

सो खेलको विषयलाई लिएर फ्रेन्च फुटल संघ र लिग वानले नेइमारमाथि अनुशासनको कारबाही गर्ने पक्का छ । तर, कारबाही कतिसम्म हुने भन्ने पक्का छैन । सामान्य केसमा खेलाडीमाथि ३ खेलसम्मको प्रतिबन्ध लाग्ने प्रावधान छ । तर, गम्भीरखाले अनुशासन उल्लंघनमा ७ देखि १० खेलसम्मको प्रतिबन्ध लाग्न सक्नेछ । नेइमारमाथि ७ खेलकै प्रतिबन्धको जोखिम छ ।

यता, मार्सेइल्लीका गोल्जालेजले नेइमारमाथि रंगभेदी गालीगलौज गरेको पुष्टि भए उनीमाथि १० खेलसम्म प्रतिबन्ध लाग्नेछ । साथै, उनीमाथि आर्थिक जरिमाना पनि हुनेछ । फ्रेन्च फुटबल संघले बुधबारसम्ममा यस विषमा निर्णय गर्ने सम्भावना छ ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १६:०१
Loading...