बार्सिलोनाको जर्सीमा सार्वजनिक भएपछि पियानिचका पाँच भनाइ

एजेन्सी, भदौ ३०
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना नयाँ खेलाडी मिरेलाम पियानिचलाई घरेलु रंगशालामा औपचारिक रूपमा सार्वजनिक गरेको छ । आज मंगलबार क्लबले क्याम्प नोउमा बोस्निया एन्ड हर्जगोभिनाका ३० वर्षीय मिडफिल्डरलाई आफ्नो जर्सीमा सार्वजनिक गरेको हो । उनलाई बार्सिलोनाले अस्ति भर्खर इटालियन युभेन्टसबाट ६५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

क्याम्प नोउमा पियानिचलाई सार्वजनिक गरेर बार्सिलोनाले उनलाई ८ नम्बर जर्सी पनि प्रदान गरेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पियानिचसँग क्लबका तर्फबाट दोहोरो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

क्याम्प नोउमा सार्वजनिक भएपछि बार्सिलोनाका नयाँ प्ले मेकर खेलाडीले मिडियासँग पहिलोपटक कुरा गर्दै आफ्नो भनाइ राखेका छन् । सोक्रममा उनले बोलेका महत्त्वपूर्ण भनाइको नेपाली अनुवाद यहाँ राखिएको छ–

१. बार्सिलोनामा आउन पाउनु एक सम्मान हो । म यो क्लबको हिस्सा बन्न पाउँदा एकदमै आभारी छु । म विश्वकै एक उत्कृष्ट क्लबमा छु । बार्सिलोनाको खेल हेरेर मैले सधैं आनन्द लिने गरेको थिएँ । र, म आज यही क्लबमा आइपुगेको छु । मैले यहाँ के दिन सक्छु, त्यो मलाई थाहा छ ।

२. बार्सिलोनाले बार्यन म्युनिखसँग जस्तो हार भोग्यो, यस्तै मैले पनि करिअरमा भोगेको छु । तर, म यहाँ जित्न र च्याम्पियन बन्न आएको छु । म यहाँबाट जाँदा एक विजेता खेलाडीका रूपमा जान चाहन्छु । र, मलाई फ्यानहरूले सम्झिने गरी काम गर्न चाहन्छु । म यहाँ थुप्रै सपना र लक्ष्य लिएर आएको छु ।

३. मेस्सीलाई बार्सिलोनाभन्दा बाहिरबाट खेलेको हेर्नु कठिन कुरा हो । उनी यहीं फुले र यहीं फैलिए । यो उनको घर हो । र, यो क्लबसँग उनले अद्भुत इतिहास रचेका छन् । मेरो विचारमा उनले बार्सिलोनामै रहने निर्णय लिँदा सबैजना खुसी छन् । यहाँ आएर मेस्सीसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु मेरा लागि एकदमै अद्भुत हुनेछ ।

४. युभेन्टसमा मैले एक उत्कृष्ट टिमसँग खेलें । करिअरका थुप्रै ऊर्जाशील वर्ष मैले त्यहाँ बिताएँ । त्यहाँ मैले क्रिस्टियानो रोनाल्डोजस्ता विश्वकै उत्कृष्ट खेलाडीसँग खेलें । त्यहाँ रहँदा मेले थुप्रै कुरा सिकें । हार–जित बुझें । मिलेर उपाधि जित्यौं, हारमा दुःखी भयौं । यस्तो अनुभव सबै खेलाडीसँग हुन्छ ।

५. मैले भन्नैपर्छ कि, मैले धेरै राम्रा दिनहरू सम्झिनुपर्छ । तर, यो सबैभन्दा उत्तम दिन बनेर यहाँ आउनेवाला छ । म यो टिमलाई उपाधि जित्न सघाउन सबथोक दिनेछु । मैले रोनाल्डो र मेस्सीजस्ता विश्वकै उत्कृष्ट खेलाडीहरूसँग खेल्ने अवसर पाएँ । अब म मेस्सीसँग खेल्न एकदमै आतुर छु ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १५:२४
Loading...