रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

काठमाडौं, भदौ ३०
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सी वर्ष २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । चर्चित अमेरिकी पत्रिका ‘फोर्ब्स’ले सोमबार सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार ३३ वर्षीय मेस्सी २०२० मा फुटबल विधबाट सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका हुन् । उनले इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।

गत वर्ष २०१९ मा रोनाल्डो सबैभन्दा बढी कमाइ गर्ने फुटबल खेलाडी बनेका थिए । र, सोही वर्ष उनी पहिलो अर्बपति फुटबलरको सूचीमा दर्ज भएका थिए । तर, यस वर्ष भने सर्वाधिक कमाइ गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका हुन् । रिपोर्टअनुसार यस वर्ष मेस्सीको कूल कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । जसमा उनले पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर कमाए भने ३४ मिलियन विभिन्न व्यापारिक प्रयोजनबाट कमाए ।

यता, रोनाल्डोको यस वर्षको कमाइ कूल ११७ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको कमाइ मेस्सीको भन्दा ९ मिलियन कमी हो । उनीपछि फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन नेइमार रहेका छन् । उनको कूल कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ । उनीपछि पिएसजी तथा फ्रान्सका केलियन एमबाप्पे छन् । उनको कमाइ ४२ मिलियन अमेरिकी डलर छ । त्यसपछि इंलिग्स क्लब लिभरपुल तथा इजिप्टका मोहमद सालाह रहेका छन् । उनको कमाइ ३७ मिलियन अमेरिकन डलर रहेको छ ।

म्यानचेस्टर युनाइटेडका फ्रेन्च खेलाडी पाउल पोग्बा ३४ मिलियनसहित छैटौंमा, बार्सिलोनाका एन्टोनी ग्रीजम्यान ३३ मिलियनसहित सातौंमा र २९ मिलियसहित रियल मड्रिडका वेल्स फरवार्ड ग्यारेथ बेल आठौं स्थानमा छन् । त्यसैगरी, बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौंमा रहँदा १०औं स्थानमा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डि गेया २७ मिलियनसहित रहेका छन् ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०७:४४
Loading...