‘ग्रीजम्यानले असफल भएर बार्सिलोना छाड्ने दिन आउन सक्छ’

एजेन्सी, भदौ ४
स्पेनिस बार्सिलोनाले लामो रस्साकस्सीबीच अनुबन्ध गरेका फ्रेन्च स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले मैत्रीपूर्णसमेत गरेर हालसम्म ६ खेल खेलिसकेका छन् । उनले प्रि–सिजनका ५ खेल खेले भने ला लिगाको एक खेल खेलेका छन् ।

एथ्लेटिको मड्रिडका पूर्वस्टार ग्रीजम्यानका लागि बार्सिलोनामा सुरुआती समय निकै कठिन देखिएको छ । नयाँ क्लबका लागि पहिलो गोल गर्न उनलाई लामै समय संघर्ष गर्नु परेको थियो ।

उनले बार्सिलोनाका लागि खेलेको पाँचौं खेलमा इटालियन नापोलीविरुद्धको मैत्रीपूर्ण खेलमा गोलको खाता खोलेका थिए । उनले हालसम्म कूल ६ खेलबाट मात्रै १ गोल गरेका छन् ।

बार्सिलोनामा अपेक्षित प्रदर्शन गर्न नसकिरहेका ग्रीजम्यानमाथि बार्सिलोनाका लिजेन्ड खेलाडी ब्राजिलियन रिभाल्डोले धारणा राखेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले जसरी फिलिपे कोउटिन्हो बार्सिलोनाबाट बाहिरिए, ग्रीजम्यान पनि एक दिन त्यसरी नै बाहिरिन सक्ने आशंका व्यक्त गरे । बार्सिलोनाले कोउटिन्होलाई प्रयोग गर्न नजान्दा एक विश्वस्तरका खेलाडी दुखद् अवस्थाबाट बाहिरिनु परेको प्रसंगमा बोल्दै रिभाल्डोले ग्रीजम्यानको पनि आफूले त्यस्तै खतरा देखेको बताए ।

‘लिभरपुलबाट कोउटिन्हहो बार्सिलोना पुग्दा विश्वका टप खेलाडी थिए । तर, क्याम्प नोउमा उनी सब्सिच्युट खेलाडीमा सीमित भए । अहिले क्लबले लोनमा सल्टायो,’ रिभाल्डोले भने, ‘मेरो निचोडमा बार्सिलोना ब्राजिलियन खेलाडीका लागि खराब क्लब हो ।’

सोही प्रसंगमा बोल्दै रिभाल्डोले बार्सिलोनाका हालका प्रशिक्षकसँग खेलाडीको स्तर र क्षमताअनुसार प्रयोग गर्ने खुबी नरहेको भन्दै ग्रीजम्यानको हाल पनि कोउटिन्होको जस्तै हुन सक्ने बताए । ‘ग्रीजम्यान विश्वस्तरका खेलाडी हुन् । तर, उनले पनि क्याम्प नोउबाट असफलसिद्ध भएर निस्कने दिन आउन सक्छ,’ रिभाल्डोले भने, ‘तर, म चाहन्छु– यस्तो नहोस् ।’

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १५:४६
Loading...