नयाँ प्रशिक्षक पिर्लोद्वारा रोनाल्डोको मुक्तकण्ठले प्रशंसा

एजेन्सी, भदौ २९
इटालियन क्लब युभेन्टसका नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । अघिल्लो दिन प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा युभेन्टसले नोभारालाई ५–१ ले हराउनेक्रममा १ शानदार गोल गरेका ३५ वर्षका रोनाल्डोको पिर्लोले दिल खोलेर प्रशंसा गरेका हुन् । सो खेलमा रोनाल्डोले टोलीका लागि सुरुआती गोल निकै शानदार ढंगले गरेका थिए ।

युभेन्टस फर्किनुअद्धि रोनाल्डोले पोर्चुगिज टोलीमा एक खेल खेल्दै २ सनसनीपूर्ण गोल मात्रै गरेनन्, अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कीर्तिमानी कोसेढुंगा पनि पूरा गरेका थिए । नेसन्स लिगमा उनले स्वीडेनविरुद्ध २ गोल गरेका थिए । त्यसपछि युभेन्टसमा नयाँ सिजनका लागि फर्किएका पोर्चुगिज फरवार्डले पहिलो प्रि–सिजन खेलमा अर्को उत्कृष्ट गोल गरेर आफ्नो लय कायमै राखे ।

‘क्रिस्टियानोले आज पनि आफ्नो स्तर देखाए, सझैंझैं । थोरै समयमा उनले जति खेले, त्यो उल्लेख्य थियो,’ पिर्लोले भने, ‘हामी भर्खर सँगै काम गर्न थालेका छौं । म ढुक्क छु– उनले हाम्रा लागि यस्ता थुप्रै गोल आगामी दिनमा गर्नेछन् । हामी मिलेर उत्कृष्ट काम गर्नेछौं ।’

पिर्लोले पोर्चुगलको टोलीमा रोनाल्डोले गरेको प्रदर्शन र युभेन्टसमा आएपछि गरेको पहिलो खेलको प्रदर्शनले उनलाई नयाँ सिजनका लागि पूर्ण रूपमा तयार पारेको बताए । ‘पोर्चुगलको टोलीमा उनले हालसालै १०० गोल पूरा गरेर आए, जुन अविष्मरणीय थियो । यहाँ आएपछि उनले उस्तै सुरुआत गरेका छन् । यो उनी नयाँ सिजनका लागि उच्च लयमा तयार छन् भन्ने सन्देश हो,’ पिर्लोले भने ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार १४:३९
Loading...