नेइमार र गोन्जालेजमाथि अनुशासनको ‘कडा कारबाही’ हुने

काठमाडौं, भदौ २९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार र मार्सेइल्लीका अल्भारो गोन्जालेजमाथि अनुशासनको कडा कारबाही हुने भएको छ । गत राति लिग वानअन्तर्गत भएको खेलमा पिएसजी र मार्सेइली भिड्दा तनावपूर्ण खेलमा ५ जना खेलाडीले रातो कार्ड पाएका थिए ।

पिएसजी आफ्नै घरमा १–० ले हारेको खेलमा पिएसजीका नेइमार, लियान्द्रो पाराडेस र लेइभिन कुर्जवाले रातो कार्ड पाएका थिए । मार्सेइलीका जोर्डन अमावी र डेरियो बेनेडोले रातो कार्ड पाएका थिए । ९० मिनेटपछि थपिएको समयमा दुवै तर्फका गरी ५ जना खेलाडीले रातो कार्ड पाएका थिए । सो खेलमा कूल १७ कार्ड झरेका थिए, जुन लिग वानको इतिहासमा एक खेलमा झरेको सर्वाधिक कार्डको रेकर्ड हो ।

खेलाडीमाथि फउल गरेको विषयमा विवाद बढेपछि दुई टिमका खेलाडी दोहोरो झडपमा उत्रिएका थिए । खेलाडीलाई साम्य बनाउन रेफ्रीले ५ रातो कार्ड देखाए । नेइमारलाई भने पछि भिएआरमार्फत् कन्फर्म गरेर रार्ता कार्ड दिएका थिए । नेइमारले विपक्षी खेलाडी अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएका थिए । विपक्षी खेलाडीमाथि जानी–जानी हातपात गरेपछि उनलाई रातो कार्ड दिइएको थियो ।

सो खेलमा खेलाडीको अनुशासन र व्यवहारलाई लिएर झडपमा उत्रिने सबै खेलाडीमाथि कारबाही हुने भएको छ । फ्रेन्च फुटबल संघले सो विषयमा खेल भएको ३ दिनभित्रमा निर्णय गर्नेछ । खेलपछि रेफ्रीले लिगलाई बुझाएको प्रतिवेदनका आधारमा संघले कारबाहीको निर्णय गर्नेछ । खेल भावना र अनुशासनबिपरीत हातपात र झडपमा उत्रिने सबै खेलाडीमाथि कारबाही हुनेछ । दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाउनेले स्वतः आगामी एक खेल गुमाउनेछन् ।

तर, हातपात अभियोगमा सोझै रातो कार्ड पाएकामाथि ३ खेलसम्म प्रतिबन्ध लाग्नेछ । नेइमारले विपक्षी खेलाडीलाई हिर्काएकाले उनीमाथि कडा कारबाही हुनेछ ।

नेइमार भन्छन्– ‘ममाथि जातीय गालीगलौज भएपछि हिर्काएँ’

खेलपछि नेइमारले भने मिडियासँग कुरा गर्दै गोन्जालेजले आफूमाथि जातीय– रंगभेदी गाली गरेकाले आफूले हात उठाएको बताए । यतिसम्म कि, उनले त खेलपछि सामाजिक सन्जाल ट्वीटरमा लेख्दै गोन्जालेजको अनुहारमा नहिर्काएर आफूले गल्ती गरेको पनि बताएका छन् । ‘उनले ममाथि रंगभेदी गालीगलौज गरेपछि मैले उनलाई हिर्काएँ । उनले मलाई बाँदरको छोरा भन्छन् भने म कसरी सहन सक्छु ?,’ खेलपछि नेइमारले भने ।

खेलपछि नेइमारले ट्वीटरमा लेखेका छन्– ‘मलाई यो कुराको पछुतो छ कि, मैले उनको अनुहारमा किन हिर्काइनँ ।’

गोन्जालेजमाथि झन् कडा कारबाही हुन सक्ने

झडपक्रममा नेइमारसँग हातपातमा उत्रिनुअघि मार्सेलीका गोन्जालेजले नेइमारविरुद्ध रंगभेदी गालीगलौज गरेको प्रमाणित भए उनीमिाथ अझै कडा कारबाही हुनेछ । खेल दौरान झडपको फुटेजको अनुसन्धान गरेर फुटबल संघले कारबाहीको निर्णय लिनेछ । यदि नेइमारले भनेजस्तै गोन्जालेजले नेइमारलाई जातीय गालीगलौज गरेको पुष्टि भए उनीमाथि कम्तीमा ७ र बढीमा १० खेलसम्मको प्रतिबन्ध साथै आर्थिक जरिमानाको सजाय हुनसक्छ ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार १४:३६
Loading...