प्रिमियर लिग : चेल्सी आज सिजनको पहिलो खेल ब्राइटनसँग खेल्दै

काठमाडौं, भदौ २९
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आज नयाँ सिजन २०२०–२१ अन्तर्गत पहिलो खेल खेल्दै छ । नयाँ सिजनको पहिलो खेल चेलसीले अवे मैदानमा ब्राइटनसँग उसकै घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समयअनुसार राति ठीक १ बजेबाट सुरु हुनेछ ।

गत सिजन राम्रो लयमा खेलेको ब्राइटनले आज चेल्सीलाई आफ्नो घरमा स्वागत गर्दा कडा टक्कर दिने पक्का छ । सिजनको पहिलो खेल नै आफ्नो घरमा खेल्ने हुँदा आज ब्राइटनमाथि जित वा कम्तीमा पनि बराबरी नतिजाको दबाब हुनेछ ।

यता, फ्रान्क लाम्पार्ड आज सिजनको पहिलो खेलमा तुफानी टोली उतार्ने तयारीमा छन् । यस समर विन्डोमा नयाँ खेलाडी अनुबन्धमा सबैभन्दा अगाडि रहेको चेल्सीले आज अधिकांश नयाँ खेलाडीलाई डेब्यु गराउने सम्भावना छ । तर, आयाक्सबाट अनुबन्ध भएका हाकिम जियाच चोटका कारण खेल्नेमा आशंका छ ।

यसबाहेक आज लाम्पार्डले जर्मन खेलाडी टिमो वार्नर, काई हार्भट्जजस्ता युवा स्टारलाई पहिलो खेलबाटै उतार्ने सम्भावना छ । लाम्पार्डले नयाँ सिजनका लागि खेलाडी अनुबन्धमा विशेष तयारी गरेकाले आज उनका लागि सिजनको पहिलो खेल परीक्षासरह हुनेछ ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार १३:३५
Loading...