यी चार युवा खेलाडी, जसले पहिलो खेलबाटै प्रशिक्षकलाई ‘मक्ख’ बनाए

एजेन्सी, भदौ २८
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो कमान्डमा पहिलो खेल खेलाएपछि केही युवा खेलाडीको प्रंशसा गरेका छन् । अघिल्लो दिन प्रि–सिजन मैत्रीपूर्ण खेलमा जिमनास्टिकलाई ३–१ ले हराएपछि मिडियासँग कुरा गर्दै उनले युवा खेलाडीको दिल खोलेर तारिफ गरे । कोम्यानले सो खेलमा पहिलो र दोस्रो हाफमा फरक–फरक टोली खेलाएका थिए ।

कोम्यान पहिलो खेलबाटै केही युवा खेलाडीबाट लोभिएका छन् । उनले युवा मिडफिल्डर रिकी पुच, कार्लेस एलिना, नयाँ फरवार्ड ट्रिनकाओको प्रदर्शनबाट आफू प्रभावित भएको बताए । ‘यहाँ क्षमतावान् युवा खेलाडीको कमी छैन । आज पुच, एलिना र ट्रिनकाओले जे गरे, म त्यसबाट औधि लोभिएँ । उनीहरूबाट म ज्यादै खुसी छु,’ खेलपछि कोम्यानले भने, ‘समग्रमा टिमको उच्च प्रदर्शन थिएन । तर, युवा खेलाडीले उत्कृष्टता देखाए ।’

कोम्यानले अघि थपे, ‘म अहिले यहाँ वर्षभरिको योजना सुनाउन सक्दिनँ । तर, यी युवा खेलाडी सधैं मसँग हुनेछन् । र, मेरो योजनामा हुनेछन् । किनभने, यी खेलाडीले टिमलाई सघाउनेछन् । उनीहरूले टोलीमा स्थान पाउनेमा शंका छैन ।’

कोम्यानले फ्रेन्च विंगर उसामान डेम्बेले नयाँ सिजनमा सुरुआती टोलीमा पर्न योग्य खेलाडी रहेको बताए । ‘उनी साँच्चै स्किल भएका खेलाडी हुन् । विङ अट्याकमा उनी धेरै राम्रा खेलाडी हुन् । उनी १० महिनापछि मैदान फर्किएका छन् । उनले अझै फिट हुन बाँकी छ । उनी सुरुआतबाट खेल्नुपर्ने खेलाडी हुन् । किनभने, उनले खेलमा लगातार अवसर बनाउँछन् र विपक्षीलाई दबाब बनाइराख्छन्,’ कोम्यानले भने, ‘म उनलाई प्लेइङ–११ मा हेर्न चाहन्छु । म उनीबाट एकदमै खुसी छु ।’

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १४:११
Loading...