पिएसजी छाड्दै एमबाप्पे : कहाँ होला नयाँ गन्तव्य ?

काठमाडौं, भदौ २८
फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पेले क्लब छाड्ने तयारी गरेका छन् । फ्रान्सका २१ वर्षीय विश्वकपविजेता फरवार्डले भर्खरै सुरु भएको नयाँ सिजन सकिएपछि आगामी समरमा क्लब छाड्न चाहेको कुरा क्लबका अधिकारीलाई जानकारी गराएका छन् ।

फ्रान्सका प्रतिष्ठित खेल मिडियाहरूले एमबाप्पेको सरुवालाई लिएर विभिन्न रिपोर्ट छापेका छन् । २०१७ देखि पिएसजीमा खेलिरहेका उनी यो समयका सर्वाधिक मूल्यवान् खेलाडीमा पर्छन् । गोल मेसिन फरवार्ड एमबाप्पेले नयाँ चुनौतीका लागि क्लब छाड्न चाहेको कुरा क्लबलाई बताएका छन् ।

एमबाप्पे भित्र्याउन विगतबाटै स्पेनिस क्लब रियल मड्रिड सबैभन्दा इच्छुक देखिँदै आएको छ । रियल त्यसका लागि उचित समयको पर्खाइमा छ । एमबाप्पे स्वयं पनि रियलमा गएर पूर्वखेलाडी तथा आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोको स्थान लिन चाहन्छन् । यता, एमबाप्पे भित्र्याउन इंग्लिस क्लब लिभरपुल पनि इच्छुक रहेको छ । तर, २०० मिलियन युरोभन्दा बढी मूल्यका एमबाप्पेको मूल्य लिभरपुलका लागि बाधक बन्ने देखिन्छ ।

पिएसजीबाट च्याम्पियन्स लिगजस्ता ठूला उपाधि जित्न नसक्दा एमबाप्पे नयाँ क्लबमा जान चाहन्छन् । र, उनका लागि सबैभन्दा उचित क्लब रियल नै हुनेछ । किनभने, रियलमा फ्रान्सकै जिनेदिन जिदान प्रमुख प्रशिक्षक छन् । र, जिदान एमबाप्पेलाई एकदमै मन पराउँछन् ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १०:२०
Loading...