मेस्सीसँग ग्रीजम्यानले गरे गुनासो

एजेन्सी, भदौ २८
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी र फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानबीच व्यक्तिगत सम्बन्ध राम्रो बन्न नसकेको विषयले गत सिजन राम्रै चर्चा पायो । तैपनि, यी दुई खेलाडीले सँगै खेले, मिलेर टिमलाई जिताए । एकअर्काको गोलमा सहयोग पनि गरे ।

ग्रीजम्यान र मेस्सीले खेलेका केही खेलबाट उनीहरूबीच केही न केही समस्या थियो भन्ने कुरा केही हदसम्म सत्य पनि थियो । केही खेलमा मेस्सी र ग्रीजम्यानसँगै खेल्दा मेस्सीले ग्रीजम्यानलाई खेलभरि एकपटक पनि बल पास नगरेको उदाहरण छन्, त्यसबेला यस विषयले निकै चर्चा पनि पायो । यस्ता दृश्य केही खेलमा देखिएका थिए । तर, दुई खेलाडीले एकअर्काको सम्बन्धबारे सार्वजनिक रूपमा कहिल्यै पनि बोलेनन् ।

तर, ग्रीजम्यानले गत राति मात्रै एक अन्तर्वार्तामा यसबारे बताएका छन् । गत राति बार्सिलोनाले पहिलो प्रि–सिजन खेल दोस्रो डिभिजनको जिमनास्कि टारागोनासँग आफ्नो मैदानमा खेल्दा बार्सिलोनाले ३–१ को जित निकाल्यो । सो खेलपछि ग्रीजम्यानले मिडियासँग प्रतिक्रिया दिँदै मेस्सीसँग सुरुका दिनमा राम्रो बन्न नसकेको स्वीकारे ।

गत राति जिमनास्टिकविरुद्ध मेस्सी र ग्रीजम्यान दुवैले सुरुआतबाटै खेलेका थिए । पहिलो हाफमा बार्सिलोनाले पाएको एक पेनाल्टीमा ग्रीजम्यानले नै गोल गरे । कप्तान मेस्सीले आफूले पेनाल्टी नहानी ग्रीजम्यानलाई हान्न दिएका थिए, जसमा फ्रेन्च फरवार्डले गोल पनि गरे । सो खेलमा मेस्सीले गोल गर्न सकेनन् ।

खेलपछि ग्रीजम्यानलाई पत्रकारले मेस्सीसँगको सम्बन्ध खास गरी गत सिजनका केही प्रसंगबारे सोधेका थिए । सो विषयमा ग्रीजम्यानले सिधा जवाफ दिए । उनले गत सिजन केही खेलमा आफूलाई मेस्सीले बल पास नदिँदा आफू निकै दुःखी भएको पनि बताए ।

‘यहाँ लियोसँग मेरो सम्बन्ध त्यस्तै छ, जस्तो फ्रान्समा केलियन एमबाप्पेसँग छ । हामीबीच कुनै समस्या छैन,’ ग्रीजम्यानले भनेका छन्, ‘यो साँचो हो कि, गत सिजन केही खेलमा उनले मलाई बल पास गरेनन् । उनले जानी–जानी पास दिएनन् वा मैले पाउन सकिनँ । त्यसबेला म निराश पनि थिएँ । सायद हामीले एकअर्कालाई नबुझेर हुनसक्छ ।’

ग्रीजम्यानले अघि थपे, ‘तर, ती कुरा अहिले छैनन् । हामी टिमका रूपमा एकताबद्ध छौं । आज उनले मलाई पेनाल्टी हान्न दिए । र, मैले गोल गरें । हामी एकअर्कालाई सघाउन तयार छौं । उनी टिममा हुँदा र नहुँदा धेरै ठूलो फरक पर्छ । किनभने, उनी विशेष छन् ।’

मेस्सीले बार्सिलोनामा फर्किन गरेको निर्णयबाट आफू खुसी भएको ग्रीजम्यानले बताए । ‘म मात्रै हैन, हामी सबै उनी यहीं रहून् भन्ने नै चाहन्थ्यौं । उनी अब हामीसँग हुनेछन् । म एकदमै खुसी छु । किनभने, हामी उनीसँग खेलेर जित्न र च्याम्पियन बन्न चाहन्छौं,’ ग्रीजम्यानले भने ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०६:३९
Loading...