प्रिमियर लिग : आज टोेटनह्याम र एभर्टनको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, भदौ २८
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिगका दुई बलिया टोली टोटनह्याम र एभर्टन सिजनको पहिलो खेलमै एकअर्काको सामना गर्दैछन् । जोेसे मोउरिन्होको टोली र कार्लेस एन्सेलोट्टीको टोली एकअर्काविरुद्ध उत्रिँदा आज यो खेल निकै रोमाञ्चक हुनेछ ।

गत सिजनको बीचमा टोली सम्हाल्न आइपुगेका मोउरिन्हो र एन्सेलोट्टी दुवै यस सिजनलाई राम्रो बनाउने दाउमा छन् । मोउरिन्हो बढी दबाबमा हुनेछन् । गत सिजन सकिँदा टप–४ मै रहन नसकेको टोटनह्याम यसपटक उपाधि होडमा खरो उत्रिने पक्का छ । तर, गत सिजन पनि राम्रो लयमा खेलेको एन्सेलोट्टीको टिम आज टोटनह्यामका लागि कठिन बन्ने पक्का छ ।

टोटनह्यामले यो सिजनको सुरुआत आफ्नो घरेलु मैदानबाट गर्दैछ । एभर्टनसँग लिगको पहिलो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ । आज लिगको पहिलो खेलमा नै बलियो टोलीविरुद्ध आफ्नो घरेलु मैदानमा उत्रिँदा टोटनह्याम चर्को दबाबमा हुनेछ ।

मोउरिन्होले आज घरेलु मैदानमा उत्रिँदा आफ्ना प्रमुख खेलाडीहरू ह्यारी केन, सन हेङ–मिनसहितका खेलाडीलाई उतार्नेछन् । टोटनह्याम आज आफ्नो घरबाट स्पष्ट जितसहित नयाँ सिजनको सुरुआत गर्ने दाउमा छ ।

यता, एभर्टनको टोलीमा आज केही नयाँ खेलाडीले डेब्यु गर्दैछन् । एभर्टनले हालै रियल मड्रिडबाट अनुबन्ध गरेका कोलम्बियन स्टार हामेस रोड्रिग्वेजले आजै डेब्यु गर्दैछन् । एन्सेलोट्टीले रोड्रिग्वेजलाई आज महत्त्वसाथ टोलीमा डेब्यु गराउने तयारी गरेका छन् ।

लिगमा आजै अर्को एक खेल पनि हुनेछ । टोटनह्याम र एभर्टनको खेलअघि वेस्ट ब्रुम र लेस्टर सिटीको खेल हुनेछ । सो खेल वेस्ट ब्रुमको घरेलु मैदानमा नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०५:५७
Loading...