आज दिउँसो युभेन्टस र नोभाराको खेल हुँदै

काठमाडौं, भदौ २८
नयाँ सिजन २०२०–२१ को इटालियन सिरी ए लिग औपचारिक रूपमा सुरु हुनुअघि साबिक च्याम्पियन युभेन्टसले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो प्रि–सिजन खेलअन्तर्गत युभेन्टसले तेस्रो डिभिजनको टिम नोभारा काल्सियोसँग आज आफ्नो घरेलु मैदानमा यो खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ठीक २ः१५ बजेबाट सुरु हुनेछ । खेल युभेन्टसको ट्रेनिङ मैदानमा हुनेछ । यो खेलको लाइभ प्रशारण युभेन्टस टिभीबाट हुनेछ ।

नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोको नेतृत्वमा युभेन्टसले पहिलो खेल्न लागेकाले यो खेलमाथि धेरैको नजर छ । पिर्लो गत सिजन सकिनासाथ अघिल्ला प्रशिक्षक माउरिसियो सार्रीलाई प्रतिस्थापन गर्दै नयाँ प्रशिक्षक बनेका थिए । उनी युभन्टसका लिजेन्ड खेलाडीसमेत हुन् ।

युभेन्टसका अधिकांश खेलाडी अन्तर्राष्ट्रिय ड्युटी सकाएर क्लब फर्किसकेका छन् । अघिल्लो सिजन टोलीमा रहेका ब्लाइसी माटुइडी, गोन्जालो हिगुइन, मिरेलाम पियानिचसहितका खेलाडी भने नयाँ सिजन हुनेछैनन् । माटुइडी अमेरिकन क्लबमा गइसकेका छन् भने हिगुइन पनि सोही देशको क्लबका अनुबन्ध हुने प्रक्रियामा छन् । यता, पियानिच स्पेनिस बार्सिलोनामा अनुबन्ध भएका छन् ।

आजको मैत्रीपूर्ण खेलमा युभेन्टसको टोलीमा प्रमुख खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, पाउलो डिबालासहितका खेलाडीलाई प्रशिक्षक पिर्लोले खेलाउने सम्भावना छ । यो समाचार बनाउँदासम्म उनले आफ्नो टोली घोषणा गरेका छैनन् । तर, नयाँ सिजनको तयारीस्वरूप यी खेल खेल्ने भएकाले सबैजसो प्रमुख खेलाडी उपलब्ध हुनेछन् । पहिलो र दोस्रो हाफमा फरक–फरक टोली खेलाउने सम्भावना छ । रोनाल्डो केही दिनअघि मात्रै पोर्चुगलको टोलीमा ड्युटी पूरा गरेर क्लब फर्किसकेका छन् ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०४:३७
Loading...