दोस्रो डिभिजनको टिममाथि बार्सिलोनाको सहज जित

काठमाडौं, भदौ २८
प्रि–सिजनअन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा स्पेनिस ला लिगा टोली बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको क्लब जिमनास्टिक टारागोनामाथि ३–१ को जित निकाल्न सफल भयो ।

बार्सिलोनाको टिम ‘बी’ को घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन ३ जना खेलाडीले गोल गरे । बार्सिलोनाले २ गोल पेनाल्टीमार्फत् गरेको थियो । सुरुआतमा लिओनल मेस्सीसहितका खेलाडी उत्रिए पनि बार्सिलोनाले औसत मात्रै प्रदर्शन गरेको थियो ।

बार्सिलोनाले खेल सुरु भएको पाँचौं मिनेटमै उसामान डेम्बेलेको गोलबाट अग्रता लिएको थियो । बक्स भित्रबाट उनले विपक्षी टिमको रक्षापंक्तिलाई चिर्दै गोल गरेका थिए । त्यसपछि बार्सिलोनाले खेलको १७औं मिनेटमा पेनाल्टी पायो । सो पेनाल्टी एन्टोनी ग्रीजम्यानले प्रहार गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

तर, खेलको ३१औं मिनेटमा जिमनास्टिकका लागि जाभी बोनिल्लाले सुन्दर गोल गरे । उनले पोस्ट नजिकैबाट हानेको कडा प्रहारले सोझै जाली चुमेपछि खेल २–१ मा पुग्यो । उनको कडा प्रहार रोक्न बार्सिलोनाका गोलकिपर नेटोले प्रयाससमेत गर्न पाएनन् ।

दोस्रो हाफमा नयाँ टोली उतारेको बार्सिलोनाले ५१औं मिनेटमा पेनाल्टी पायो । सो पेनाल्टीमा फिलिपे कोउटिन्होले प्रहार गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा पाहुना टोली जिमनास्टिक खेलमा फर्किन सकेन । र, खेल बार्सिलोनाले ३–१ ले जित्यो । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो र दोस्रो हाफमा फरक–फरक टोली खेलाएका थिए ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १८:३५
Loading...